वीरगन्ज,८असोजःवीरगन्जमा दशैं मेलाका चलिरहेका बेला सडक र फुटपाथमा थापिएका जिलेबी पसलहरुमा बुधबार बजार अनुगमन टोलीले अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सा,वीरगन्ज महानगरपालिकाको कार्यालय,वीरगन्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित मञ्चका प्रतिनिधी सम्मिलित टोलीलृे बुधबार २२ वटा जिलेबी पसलहरुको अनुगमन गरेको हो ।
त्यसमध्ये ७ वटा जिलेबी पसलमा प्रयोग गरिएको तेल गुणस्तरहीन र ५ वटा पसलमा प्रयोग भएको फुड कलर मापदण्डअनुसार नभएको भेटिएको उपभोक्ता हित मञ्च पर्साका उपाध्यक्ष अजित भुजेलले जानकारी दिए । गुणस्तरहीन तेल र फुड कलर प्रयोग गरेका पसलका सामग्री तत्काल नष्ट गराइ पसलेलाई सचेतपनि गराइएको उनले बताए ।
मेलामा बिक्री भईरहेका खाद्य पदार्थहरू खान योग्य छन् कि छैनन् भनेर जाँच गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका खाद्य निरीक्षण अधिककृत सोनु साहले बताए ।दशैंलाई लक्षित गरी गरिएको अनुगमन दशैंभर निरन्तर जारी रहने भन्दै उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाना उपलब्ध गराउन अनुगमनलाई थप कडा बनाइनेपनि बताए।
अनुगमन टोलीमा खाद्य निरीक्षण अधिकृत साह, उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष भुजेल, वीरगन्ज महानगरपालिका कार्यालयका प्रतिनिधि विभा मिश्र,वीरगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास सहभागी थिए।

