वीरगन्ज,३असाेज:संविधान दिवसलाई मधेसी दलले ‘कालो दिन’को रुपमा मनाएका छन् । ७ दलीय ‘संयुक्त लोकतान्त्रिक मोर्चा’ले संविधान जारी भएको दिनको विरोधमा कार्यक्रम गरेका हुन् ।
संविधानले मधेसलाई दिएको अधिकार अपूरो र विभेदपूर्ण रहेको भन्दै मोर्चाले शुक्रबार वीरगन्जमा हातमा कालो पट्टी बाँधेर विरोध जनायो ।
‘संविधान जारी भएको दिन ब्ल्याकआउट गरेका थियौं, कालो दिनको रुपमा मनाएका छौं,’ सहभागी नेताहरुले भने।
मोर्चामा आवद्ध दलका नेता कार्यकर्ताहरुले घण्टाघरस्थित शहीद स्मारक पार्कमा मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सालिकमा माल्यार्पण समेत गरेका थिए। कार्यक्रममा सहभागी नेताहरुले संविधानमा त्रुटी रहेकोले सच्याउन आवश्यक रहेको बताए ।
उनीहरूले संविधान दिवसलाई उत्सवको रूपमा होइन, अधिकार र पहिचानका सवालमा अझै अधुरो यात्रा सम्झाउने कालो दिनका रूपमा मनाउनुपरेको तर्क गरे ।
नेताहरूले संविधान निर्माण प्रक्रियामा मधेसको वास्तविक प्रतिनिधित्व र मागलाई बेवास्ता गरिएको आरोप लगाउँदै उनीहरुले मधेसी, थारू, आदिवासी–जनजाति, मुस्लिमलगायत समुदायका अधिकार सुनिश्चित गर्न संविधान संशोधन वा पुर्नलेखन अपरिहार्य रहेको धारणा राखे ।
जसपा नेपाल पर्साका अध्यक्ष यादवले संविधानमा त्रुटीहरु रहेकोले त्यसलाई सच्याउनुपर्ने बताए ।`संविधानमा त्रुटीहरु छन्, त्यसलाई सच्याउनुपर्छ, त्यसका लागि संविधान पूर्नलेखन वा संसोधन गर्नुपर्छ,’ उनले भने ।
देश नयाँ युगमा प्रवेश गर्दैगर्दा संविधानको रक्षा हुनु आवश्यक भए पनि मधेश जनविद्रोहलाई भुल्न नहुने उनको तर्क छ ।
‘२०७२ सालमा ६ महिनासम्म विश्वमै उदाहरणीय आन्दोलन गरेका हौं। संघीयतालाई स्थापना गरेका हौं। संविधानलाई आत्मसात गरेपनि संसद र सडकमा आवाज उठाउँदै आएका छौं । जायज माग पुरा गराउन, संविधानमा छुटेका कुराहरुलाई पुर्नलेखन गराउन, संसोधन गराउने अडानमा सुरुदेखि नै छौं,’ अध्यक्ष यादवले भने।
संविधान मानेर निर्वाचनमा जाने, सत्तामा पनि जाने तर विरोध गर्ने भनेर मधेसी दलको आलोचना हुने गरेको छ । तर अध्यक्ष यादवले सत्तामा जानु अलग कुरा भएको बताए ।
‘सत्तामा गएपनि आवाज छोडेका छैनौं । संसदमा आवाज बुलन्द गरेर उठाउने, सडकबाट पनि सरकारलाई दबाब दिने हो,’ उनले भने, ‘सहिदलाई सम्मान गर्ने र असन्तुष्टिलाई जनमानसमा लैजाने उद्देश्यले कालो दिवसको रुपमा मनाएका हौं ।’
मधेस आन्दोलनको वलिदान र संघर्षलाई बिर्सेर उपेक्षा गर्न नहुने उनको भनाइ छ ।
जसपा नेपालकी नेतृ करिमा बेगमले महिलामाथि हुने भेदभाव अन्त्य गर्दै समानुपातिक हक सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा जसपा नेपालका नेताहरु शशीकपुर मियाँ,करिमा बेगम, राष्ट्रिय मुक्ति माेर्चाका नेता निजामुदिन समानी सहित ७ दलीय मधेसी मोर्चाका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।साभार:सेताेपाटी

