काठमाडौं,२८भदाैं:राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा (संसद)विघटन गरेका छन् ।शुक्रबार राति मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् ।कार्कीले गरेको संसद विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गरेका हुन् ।
त्यस्तै, आगामी फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पाैडेलले नयाँ चुनावको मिति घोषणा गरेका हुन् ।
सुरुमा प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की प्रधानमन्त्री बन्न सहमत भएकी थिइन् ।
गत सोमबार र मंगलबार युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनलाई प्रधानमन्त्री नियुक्त गर्न जेनजीहरूले सञ्जालमै छलफल गरेका थिए ।उक्त छलफलपछि मेयर शाहले पनि कार्कीको नाममा समर्थन जनाएका थिए ।
नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।साभार:अनलाइनखबर


