वीरगन्ज,१० भदौं :काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरेका वीरगन्जमा उपचाररत बिरामीको दिसाको नमुनाहरूमापनि हैजाको संक्रमण पुष्टि भएको छ ।प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टका अनुसार कुल १० नमुनामध्ये ८ नमुनामा हैजा पुष्टि भएको हो । बाँकी २ नुमनाको रिपोर्ट भने भोलि (बुधबार)आउनेछ ।
‘हामीले अहिले सब कल्चर प्रक्रियाबाट पुष्टि गरिसकेका छौँ, बाँकी दुई नमुनामा पनि सम्भवतः पोजिटिभ नै आउला,’ डा. भट्टले भने ।राष्ट्रिय स्वास्थ्य प्रयोगशालाले वीरगन्जका अस्पतालबाट प्राप्त बिरामीको दिसाकाहरुको नमुना परीक्षण गरेको हो ।प्रयोगशालामा गरिएको कल्चर परीक्षणमा ८० प्रशितभन्दा बढीमा हैजा पुष्टि हुनुले समुदायस्तरमा हैजा फैलिरहेको संकेत गरेको डा. भट्टले बताए।
यसअघि गत शुक्रबारराति सुरुमा वीरगन्जको तराई हस्पिटलमा हैजाका शंकास्पद बिरामीहरु देखिएपछि स्वास्थ्थ्य कार्यालय पर्साले ३० जनाको कीटबाट गरेको परीक्षणमा ३ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो ।
यसैबिच वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार बिहान ८.३० बजे सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म हैजा र झाडापखलाका १७१ जना बिरामी अस्पतालबाट उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
शुक्रबार यता ३९१ जना झाडापखला र हैजाका बिरामी वीरगन्जका विभिन्नी अस्पतालमा उपचारका लागि भर्ना भएकोमा तीमध्ये उपचारपछि निको भई १७१ जना घर फर्किएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए।
उनका अनुसार, वीरगन्जका अस्पतालमा अहिले झाडापखला र हैजा गरी २२० जना बिरामी उपचाररत रहेका छन् । उनका अनुसार सबैभन्दा बढी नारायणी अस्पतालमा १०६ जना, नेशनल मेडिकल कलेजमा ३१ जना ,वीरगन्ज हेल्थकेयर हस्पिटलमा २० जना बिरामी उपचाररत छन् । यस्तै सर्वोत्तम हस्पिटलमा ९ जना , एडभान्स मेडिकेयर हस्पिटलमा ६ जना , प्रभु हस्पिटलमा ५ जना , नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा ३ जना र नारायणी सेन्टर हस्पिटलमा २ जना बिरामी उपचाररत छन् ।यसैगरी आशाराम हस्पिटल, वीरगञ्ज न्युरो एन्ड जनरल हस्पिटल, स्पर्श एमएस हस्पिटल, भवानी हस्पिटल, अलि अर्थ हस्पिटलमा एक÷एक जना बिरामी उपचाररत छन् ।
यस्तै गत शुक्रबारदेखि मंगलबार बिहान ८.३० बजेसम्म वीरगन्जमा ९५ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

