वीरगन्ज,८ भदौं : रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान भएको छ ।मृतक रौटहटको माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइतीघर भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको रौतहटका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
‘प्रारम्भिक अनुसन्धानमा उनी रुवीकुमारी साह रहेको खुलेको छ । उनका आफन्तहरु आएका छन् । मृतकको घर भारतको मुजफ्फरपुर हो । थप कुराहरु बुझ्ने काम हुँदैछ’ कार्कीले भने ।
उनका अनुसार मृतक रुवीका एक छोरा छन् । एक महिनादेखि माधवपट्टीमा उनी डेरा गरी बस्दै आएकी थिइन् । उनको हत्या गरेर शव सुटकेसमा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ ।
शनिबार राति १०ः३० बजे बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । शंकास्पद लागेर प्रहरीले रातभर उक्त सुटकेस रुँगेर बसेको थियो ।आइतबार बिहान सुटकेस खोलेर हेर्दा त्यसभित्र सल र डोरीले घाँटी बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो ।

