
सर्लाही,३०साउन: सर्लाहीको हरिपुरवामा बुधबार बेलुकी अज्ञात समुहले गोली प्रहार गरी एक शिक्षकको हत्या गरेको छ । हरिपुर्वा नगरपालिका वडा नम्बर ६ घर भएका शिक्षक अन्दाजी ५० वर्षका रामपुकार यादवकाे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।
सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार बेलुकी साढे ८ बजेतिर यादव आफ्नै घरकाे अगाडि माेटरसाइकलमा आएका अपरिचित दुई व्याक्तिले उनीमाथि गोली प्रहार गरेर भागेका थिए ।
टाउकोमा गाृली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटैमा उनकाे मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले बताए ।
अस्पताल पुग्दासम्म यादवको मृत्यु भइसकेको जानकी एकेडेमिक हस्पिटलका सञ्चालक डाक्टर सुरेन्द्र यादवले पुष्टि गरेकाे राइले बताए ।यादवलाई गाेली हान्नेहरुकाे पहिचान खुल्न नसेकाे भएपनि उनिहरुकाे खाेजी भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा आएका हतियारधारीले उनीमाथि गोली प्रहार गरेर भाग्ने क्रममा यादव दुर्घटनामा परेको बुझिएको डीएसपी राईले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

