काठमाडौं,२१साउन: एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत बुधबार नेपाल र भुटानबीच भएको खेल बराबरीमा सकिएको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेल १–१ गाेलको बराबरीमा सकिएको हो।
खेलको १०औं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। तर, ८ मिनेटपछि भुटानी खेलाडी केल्डिन वाल्मोले नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै बराबरी गोल गरिन्।
दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरे पनि सफल हुन सकेनन्। बराबरीसँगै नेपाल र भुटानले समान १–१ अंक बाँडेका छन्।
नेपाल रहेको समूहमा आयोजक भुटान, उत्तर कोरिया र साउदी अरब रहेका छन्।
थाइल्यान्डमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कपमा स्थान पाउन छनोट प्रतियोगिताको समूह विजेता वा उत्कृष्ट उपविजेता बन्नु पर्नेछ। ८ समूहका विजेता र ३ उत्कृष्ट उपविजेताले एसियन कपमा स्थान बनाउनेछन्।

