वीरगन्ज,१९साउनःपर्साको ठोरी गाउँपालिकामा रहेका भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई उपलब्ध् गराइने जग्गाकाको नापजाँच कार्य सुरु भएको ।भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले सोमबार नापजाँचमा प्रयोग हुने उपकरणको बटन थिचेर जग्गा नापजाँच कार्यको सुभारम्भ गरेका गरेका हुन्।
ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा आयोगका अध्यक्ष अहमदले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई जग्गाको मात्र नभई उनीहरूको मैलिक हक, समानताको हक र सामाजिक न्यायको हकको रुपमा लिनुपर्ने बताए। उनले राज्यको मुख्य जिम्मेवारी जनताको अधिकार सुनिश्चित गर्नु रहेको बताए । साथै लालपुर्जा र टीका दुबैको रंग रातो नै रहेकोले यसपालिको टीकासंगै लालपुर्जा पनि वितरण गरिने प्रतिबद्धता अहमदले जनाए ।
गाँउपालिका अध्यक्ष श्रेष्ठले ठोरीका भूमिहीन जनतालाई जग्गाको हक दिलाउन आफूबाट कुनै प्रयास बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा आयोगका सदस्य–सचिव दीपक सिंह, वरिष्ठ नापी अधिकृत राजकुमार बि.क.,नापी सर्वेक्षक मधुरेन्द्र झा, सुब्बा राजेन्द्र खड्का, पालिकाका कर्मचारी, आयोगका कर्मचारी तथा सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

