वीरगन्ज,१३साउनःवीरगन्जको मुख्य सडक (मेनरोड) विस्तार गर्न नहुने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको नयाँ उत्प्रेषण (रिट) मुद्दाको पेसी फेरि सरेको छ। आज(मंगलबार))का लागि तोकिएको पेसी अब साउन २६ गतेका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्चका न्यायधिशद्वय तील प्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासमा आजका लागि तोकिएको उक्त रिट हेर्न नभ्याइनेमा राख्दै अर्को पेसी साउन २६ गतेका लागि तोकेको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलले जानकारी दिए ।
यसअघि साउन १३ गते परेको पेसी ,विपक्षी पक्षका विभिन्न कार्यालयहरुमा सूचना नपुगेको भन्दै सारेर आज साउन १३ गतेका लागि तोकिएको थियो ।
मेनरोड विस्तारका विरुद्ध यसअघि सर्वोच्चमा दायर भएका पाँचवटा छुट्टाछुट्टै उत्प्रेषण मुद्दालाई न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत फागुन २८ गते खारेज गरिसकेको थियो। ती रिटहरू लक्ष्मण साह रौनियार, वीरेन्द्रकुमार संघाई, राजकुमारी देवी तुल्स्यान, भरत साह रौनियार र सुधीरकुमार वर्णवालले दायर गरेका थिए।
उक्त रिटहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा लगायतलाई विपक्षी बनाइएको थियो। ती मुद्दाहरू वर्षौँदेखि पेसीमा “हेर्दा हेर्दै” मा राखिँदै आएका थिए । अन्ततः लामो कानुनी बहसपछि गत फागुन २८ गते सर्वोच्च अदालतले मेनरोड विस्तार सम्बन्धि मुद्धामा सरकारको पक्षमा फैसला गर्दै उक्त रिट नै खारेज गरिदिएको थियो ।
तर, त्यही विषयलाई लिएर २४ जनाले पुनः गत असार ३२ गते नयाँ उत्प्रेषण रिट दर्ता गरेपछि त्यसको पेसी आज दोस्रो पटक सरेर साउन २६ गतेका लागि तोकिएको हो ।

