वीरगन्ज,११साउनःखानेपानी तथा सिंचाई सम्बन्धि समन्वय र सहजीकरण समितिले वीरगन्ज महानगरसहित पर्सा जिल्लामा विद्यमान पानीको संकट समाधानका लागि विभिन्न ९ बुँदे निर्णय गरेको छ ।
आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशेष उपस्थिती तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफको अध्यक्षतामा बसेको बैठकले हालसम्म खानेपानी संस्थान लगायत अन्य निकायबाट जडान भएको धारा तथा डीप बोरिङ्गको लगत संकलन गर्ने निर्णय गरेको छ ।
यस्तै खानेपानी अभाव रहेको क्षेत्रको पहिचान गर्ने, आवश्यकता पहिचान भएको क्षेत्रमा पानी आपूर्तीको अवधारणा पत्र तयार गर्ने,वास्तविक रुपमा खानेपानी अभाव भएका क्षेत्रहरुको पहिचान गरी युनिसेफ नेपाल र जिल्ला समन्वय समितिले वीरगन्ज महानगरपालिकासंगको समन्वयमा न्यूनतम ५००० लिटर क्षमताका आवश्यक संख्यामा ट्यांकी ७ दिनभित्र जडान गर्ने निर्णयपनि बैठकले गरेको छ ।
यसैगरी बैठकले चालू आवस्थामा रहेका डीप बोरिङ्गमा विद्युत व्यवस्थाका लागि सम्बन्धित वडाध्यक्षको समन्वयमा उपभोक्ता समिति गठन गर्ने र विद्युत मिटर जडान गर्ने व्यवस्था मिलाउने निर्णयपनि बैठकले गरेको छ ।
खानेपानीको वैकल्पिक सुविधा नभएको ठाउँमा डिप बोरिङ्ग जडान गर्नु परेमा स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसमा बोरिङ्ग जडान गरी त्यसको जानकारी जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत गराउने,खानेपानी र सिंचाई विद्युत आपूर्तिको लागि निवेदन प्राप्त भएको २४ घण्टा भित्र नेपाल विद्युत प्राधिकरणले विधुत मिटर जडान गर्ने,खानेपानीको किफायती प्रयोग र खानेपानी स्वच्छताका लागि अभियान संचालन गर्ने र यो कार्यक्रमको समन्वय युनिसेफ नेपालले गर्ने निर्णयपनि भएको प्रजिअ अर्यालले जानकारी दिए।
यसैगरी गण्डक नहरको सरसफाईको कार्य तिब्रताको साथ अगाडी बढाउने र आवश्यक स्थानमा मर्मतको कार्य आइतबारदेखि नै सुचारु गर्ने निर्णयपनि भएको उनले जानकारी दिए।
बैठकमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मी,नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका ईन्जिनियर सुरेश साह,नेपाल खानेपानी संस्थान वीरगन्जका प्रमुख प्रवीण साह,नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबे ,कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुर, खानेपानी तथा ढठल व्यवस्थापन कार्यलयका मुकेश ठाकुर , जिल्ला समन्वय समिति पर्साका समन्वय अधिकारी विनय श्रीवास्तव, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रा,सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट लगायतकाको सहभागिता थियो ।

