वीरगन्ज,१०साउनःपर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ गादीमा रहेको स्वास्थ्य चौकीमा सुविधासम्पन्न प्रसूती केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा आएको छ ।
गादी स्वास्थ्य चौकी परिसरमा १ करोड ५ लाख रुपैयाँको लागतमा नवनिर्मित प्रसूती केन्द्र भवनको शनिबार गाँउपालिका अध्यक्ष दिनेश चौधरीले समुद्घाटन गरेसंगै प्रसूती केन्द्र सञ्चालनमा आएको हो ।
संघीय सरकारको ६० प्रतिशत अनुदान र गाँउपालिकाको ४० प्रतिशत लगानीमा गादी स्वास्थ्य चौकी परिसरमा दुई तल्ले सुविधासम्पन्न प्रसूती केन्द्रको भवन निर्माण गरिएको गाँउपालिका उपाध्यक्ष ममता महत्तोले जानकारी दिइन् ।
गादी प्रसूती केन्द्र सञ्चालनमा आएसंगै अब प्रसूतीका लागि गर्भवती महिलालाई वीरगन्ज वा अन्य शहरका अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको गाँउपालिका अध्यक्ष चौधरीले बताए । अब आफनै गाँउमा महिलाले सुरक्षित र गुणस्तरीय प्रसूती सेवा पाउने उनले बताए ।
गाँउपालिका उपाध्यक्ष महत्तोका अनुसार, यसअघि गादी स्वास्थ्य चौकीको एक कोठामा प्रसूती सेवा सञ्चालनमा थियो । जसका काारण प्रसूतीको लागि आउने महिलाको संख्या बढ्दा अन्यत्र पठाउनुपर्ने बाध्यता थियो । तर अब प्रसूती सेवाका लागि छुट्टै सुविधासम्पन्न प्रसूती केन्द्र भवन निर्माण गरि सञ्चालनमा ल्याइएकाले एकैपटक ६÷७ जना महिला आएपनि सहज रुपमा सेवा उपलब्ध हुने उनले बतााइन् ।
उनले थपिन्,‘ अब प्रसूती केन्द्रमा २४ सै घण्टा सेवा उपलब्ध हुन्छ । यसका साथै एकदमै सस्तो शुल्कमा एम्बुलेन्स सेवापनि उपलब्ध हुन्छ ।’
स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष विजय गैरेले गादीमा सञ्चालनमा ल्याइएको सुविधासम्पन्न प्रसुति केन्द्र पर्सा जिल्लाको भ्रामीण भेगमै नमूनाका रुपमा रहेको बताए ।उनले भने,’ सुविधासम्पन्न केन्द्रमा दक्ष र अनुभवी स्वास्थ्यकर्मीको व्यवस्थापनपनि गरेका छौं । नवजात शिशुका लागि आवश्यक उपकरणहरु सबै छन् । औषधिहरु निःशुल्क उपलब्ध छन् ।’
स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विजय गैरेको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा पटेर्वा सुगौली–१ का वडाध्यक्ष फरमान अन्सारी, वडा नम्बर ४ का वडाध्यक्ष वासु पजियार थारु, कार्यपालिका सदस्य, बुद्धिजीवी, स्वास्थ्यकर्मी लगायतकाकोपनि उपस्थिति रहेको थियो ।

