वीरगन्ज,८साउनःसंंघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्जको सिर्सिया नदिको संरक्षण र प्रदुषण नियन्त्रणका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।बिहीबार वीरगन्ज महानगरपालिकामा महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा भएको सिर्सिया नदिको प्रदूषण नियन्त्रणसम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले उक्त प्रतिबद्धता जनाएका हुन् ।
पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य (सांसद) समेत रहेका यादवले छलफलमा सिर्सिया नदिको संरक्षण र प्रदूषण नियन्त्रणका उपायहरूका विषयमा गहन विमर्श गरिएको जानकारी दिए । दिनानुदिन बढ्दै गएको नदिको प्रदूषणको अवस्थालाई आँफुले गम्भीरतापूर्वक लिएको भन्दै उनले नदिको प्रदुषणको समस्याको तत्काल र दीर्घकालीन समाधानका लागि आवश्यक कदम चालिने प्रतिबद्धतापनि जनाए ।
उनले भने,‘नदिको प्रदुषण नियन्त्रण र संरक्षणका लागि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोग तथा खानेपानी मन्त्रालयको सहलगानी आयोजना अन्तर्गत आवश्यक बजेट विनियोजन सरकारले गर्छ ।’नदिको प्रदुषण नियन्त्रण र संरक्षणका लागि आवश्यक बजेटसहितको प्रस्ताव जतिसक्दो छिटो तयार पारेर मन्त्रालयमा पेस गर्न उनले छलपफलमा सहभागी वीरगन्ज महानगरका मेयर सिंहसंग आग्रहपनि गरे ।
स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको सहकार्यमा मात्रै सिर्सिया नदिको प्रदूषण नियन्त्रणमा दीगो समाधान सम्भव हुने उनले बताए । नदी प्रदूषण नियन्त्रणका लागि खानेपानी मन्त्रालयका तर्फबाट आवश्यक सबै पहल गरिने प्रतिबद्धतापनि उनले दोहोर्याए ।
वीरगन्ज महानगरका मेयर सिंहले सिर्सिया नदिको संरक्षण र प्रदुषण नियन्त्रणको काम फास्ट ट्रयाकबाट अगाडि बढाउन मन्त्री यादवसंग आग्रह गरे ।खानेपानी मन्त्रालयले थाल्ने नदिको संरक्षण र प्रदुषण नियन्त्रणको काममा महानगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धतापनि उनले जनाए ।
नदि संरक्षण र प्रदुषण नियन्त्रणका लागि महानगरपालिकाले छिट्टै सरोकारवालाहरुसंग छलफल गरेर कार्ययोजनासहितको प्रतितवेदन तयार गरेर मन्त्रालयमा बुझाउने उनले बताए । उनले भने,‘ यो हाम्रो लागि सुनौलो अवसरपनि हो । त्यसका कारण हामीले यो अवसर गुमाउनु हुदैन ।’
सिर्सिया नदिको संरक्षण र प्रदुषण नियन्त्रण वीरगन्जवासीको पनि जिम्मेवारी भएकाले मन्त्रालयले थाल्ने परियोजनामा साथ दिन सबैसंग उनले आह्वानपनि गरे ।उनले भने,‘अहिले पानीको हाहाकारको जुन समस्या वीरगन्जले भोगीरहेको छ । त्यसको समाधानका लागिपनि सिर्सिया नदि सफा हुन अतिआवश्यक नै छ ।’
छलफलमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, बाराको जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माका साथै पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगी लगायतकाकोपनि सहभागिता थियो ।
छलफलपछि बिहीबार नै साँझ मन्त्री यादव , मेयर सिंहसहितको टोलीले झण्डै तीन दशकददेखि अतिक्रमण र प्रदुषणको चपेटामा परेको सिर्सिया नदिको स्थलगत अनुगमनपनि गरेको मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलले जानकारी दिए ।

