वीरगन्ज,६साउनःडिभिजन वन कार्यालय पर्साले गादीमाई साझेदारी वनको अतिक्रमणमा परेको करिब ६ हेक्टर जग्गा अतिक्रमणमुक्त गरेर त्यसमा १० हजार बढी बिरुवा रोपेको छ ।
पटर्वा सुगौली गाँउपालिका वडा नम्बर २ मा रहेको करिब ६ हेक्टर वन क्षेत्र सर्वसाधारणले अतिक्रमण गरेर खेती गर्दै आइरहेका थिए । डिभिजन वन कार्यालय र गादीमाई साझेदारी वनको सक्रियतामा अतिक्रमणमा परेको जग्गा फिर्ता गरेर अहिले विभिन्न पाँच प्रजातिका १० हजार बिरुवा रोपिएको हो ।
डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले स्थानीयसँग समन्वय गरेर अतिक्रमणमा भएको वनको जग्गालाई तारजालीले घेरबार गरेर वृक्षरोपण गरेको जानकारी दिए । ‘सर्वसाधारणले साझेदारी वन अतिक्रमण गरेर खेती गर्दै आइरहेका थिए, हामीले यहाँका स्थानीयसँग पटक–पटक छलफल र समन्वय गरेर मात्रै अतिक्रमणमा परेको जग्गा फिर्ता गरेर वृक्षरोपण गरेका हौँ’, उनले भने ।
सबडिभिजन वन कार्यालय रंगपुरका अधिकृत उज्ज्वल यादवले धेरै प्रजातिका सिमल, मसला ट्री, शिरिष, खमारी, अम्बालगायतका प्रजातिका १० हजार बिरुवाहरु रोपेको जानकारी दिए ।
सखुवाप्रसौनी गाउँपालिका–१ शीतपुरमा भने साझेदारी वनको जग्गामा स्थानीयले खेती गरेपछि वन संरक्षणमा केही जटिलता थपिएको वन कार्यालयले जनाएको छ ।
सोमबार डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत अहमद र सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादवसहितका स्थानीयसँग साझेदारी वन संरक्षणको विषयमा छलफलसमेत भएको थियो ।
विन्दवासिनी कोइलाभार बढनिहार साझेदारी वनका अध्यक्ष रिजवान अन्सारीले सखुवाप्रसौनी–१ शितपुरमा स्थानीयको अतिक्रणको कारणले वृक्षरोपण कार्य प्रभावित भएको बताए। ‘स्थानीयले साझेदारी वन मातहतको क्षेत्रमा खेती गर्न पाउने भन्ने खालको माग राखेकाले पनि वृक्षरोपण कार्य प्रभावित हुँदै आइरहेको छ’, उनले भने, ‘सबै निकायसँग समन्वय गरेर वृक्षरोपण र सामुदायिक वन जोगाउने कार्यलाई निरन्तता दिनेछौँ।’
डिभिजनल वन अधिकृत अहमदले वन कार्यालयले अतिक्रणमा परेका वनको जग्गा फिर्ता गरेर वृक्षरोपणको काम अघि बढाइने बताए । ‘विगतमा सर्वपक्षीय भेलामा सहमति गरेको ठाउँमा पनि डिभिजन वन कार्यालयलाई तारजाली लगाएर घेरवार गर्न रोक्ने काम भइरहेको छ’, उनले भने, ‘केही समय समन्वयको प्रयास गर्नेछौँ, सो नभएको खण्डमा वन ऐनअनुसारको आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछौँ, हामीले सबै निकायसँग समन्वय गरेर आवश्यक काम अघि बढाउनेछौँ।’
सखुवा प्रसौनी गाँउपालिका अध्यक्ष जशवन्त यादवले भने वर्षौदेखि खनजोत गरेर उपभोग गर्दै आएका स्थानीय मूमीहिन र सुकुम्बासीका लागि विकल्प खोजेपछि मात्रै त्यस ठाउँमा वृक्षरोपण गर्नुपर्ने माग गर्दै आएका छन् ।रासस

