वीरगन्ज,३साउनःखडेरी र चापाकल सुकेर काकाकुल भएको वीरगन्ज महानगर क्षेत्रमा सर्वसाधारणलाई दैनिक ५ लाख लिटर पानी वितरण भइरहेको छ ।
वीरगन्ज महानगरपालिकाको कार्यालयले आफ्नो साधन स्रोतबाट दैनिक सरदर ४ लाख लिटर र मधेस प्रदेश सरकारले उपलब्ध गराएको ८ वटा बारुण यन्त्रबाट नेपाली सेनाले १ लाख लिटर पानी वितरण गरिरहेको जनाएको छ ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सचिवालयका अनुसार, महानगरको २ वटा बारुण यन्त्र, एक ट्यांकर र अन्य साधनसमेत गरी ८ वटा साधनबाट महानगरका विभिन्न वडाहरुमा गरी दैनिक औसतमा ४ लाख लिटर पानी वितरण भइरहेको छ । त्यसैगरी, जिल्ला प्रशासन कार्यालय पर्सामार्फत नेपाली सेनाको टोलीले महानगरका विभिन्न वडामा शुक्रबारदेखि पानी वितरण गरिरहेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, प्रदेश सरकारबाट प्राप्त ८ वटा बारुणयन्त्र महानगरभरि परिचालन गरिएको छ । एउटा बारुणयन्त्रले ५ हजार लिटर पानी बोक्ने क्षमता हुन्छ । दैनिक कम्तीमा १ लाख लिटर पानी यसरी वितरण गर्ने गरिएको उनले बताए । बारुणयन्त्रलाई पानी संकलन गर्ने स्थान वीरगन्ज महानगरपालिकाको कार्यालयले उपलब्ध गराएको छ । पानी वितरण गर्दा सबै वडालाई समान प्राथमिकतामा राखिएको प्रजिअ अर्यालको भनाइ छ ।
झण्डै तीन सातादेखि वीरगन्ज महानगर र आसपासको क्षेत्र काकाकुल छ । चापाकलमा पानी आउन छोडेको छ । अधिकांश महानगरवासीले हालसम्म खानेपानी संस्थानको धारा जडान नगरेकाले धेरैको घरमा खानेपानीको चरम अभाव भएको छ । पानीको अभावले सर्वसाधारणको दैनिकी नै प्रभावित भएको छ ।शंकर आचार्य/इकान्तिपुर

