Madhes Khabar
समाचार

वीरगन्जमा प्रशिक्षण कार्यक्रम :मानव अधिकारको रक्षामा सामूहिक पहल आवश्यक

माधुरी महताे
वीरगन्ज,२८असार:नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा शनिबार वीरगन्जमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा सहभागीहरुले मानव अधिकारको संरक्षणमा सरकारका निकाय र नागरिक समाज दुवैको सामूहिक पहलको आवश्यकता रहेकाेमा जाेड दिएका छन्।

 

कार्यक्रममा बोल्ने वक्ताहरूले मानव अधिकार उल्लंघनका बढ्दो घटनाप्रति चिन्ता व्यक्त गर्दै विशेषगरी मधेस प्रदेशमा देखिएका मानव अधिकारका नयाँ चुनौतीहरूबारे प्रकाश पारेका थिए।कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले देशभर मानव अधिकार उल्लंघनका घटना बढ्दै गएको स्वीकार गर्दै मधेस प्रदेशमा भने विभिन्न प्रकृतिका घटनाहरू बाहिरिन थालेको बताए। उनले वीरगन्ज र पर्सामा खानेपानीको समस्या, विवाहको १५ वर्ष भइसक्दा पनि बच्चाको जन्मदर्ता नबनाइदिने लगायतका मानव अधिकार उल्लंघनका घटनाहरू आफ्नो कार्यालयमा आउने गरेको जानकारी दिए।

विगतमा वीरगन्जमा भएका विभिन्न घटनाहरूमा प्रहरीले ढुंगा खाएर, चोट खाएर, रगतमाम्मे भएर र दाँत झारेर समेत जनताको मानव अधिकारको रक्षा गरेको स्मरण गर्दै उनले यद्यपि प्रश्न भने आफूहरूमाथ, नै आउने गरेको गुनासो गरे।

 

प्रमुख जिल्ला अधिकारी अर्यालले अब मानव अधिकारको रक्षा राज्य पक्षले मात्र गर्नुपर्छ भन्ने मानसिकता त्याग्नुपर्ने र सबैले यसको रक्षामा लाग्नुपर्नेमा जोड दिए। उनले मानव अधिकारबारे जानकारी नभएका व्यक्तिहरूसम्म यो शिक्षा पुर्याउन आवश्यक रहेको बताए। विशेषगरी मधेस प्रदेशमा न्यायिक समितिका प्रतिनिधिहरू सक्रिय नदेखिएको भन्दै उनले त्यस्ता पदाधिकारीहरूलाई मानव अधिकारबारे जानकारी दिनु आवश्यक रहेको धारणा राखे।न्यायिक समिति सक्रिय भएमा पीडितहरूले केही हदसम्म न्याय पाउने र मानव अधिकारको रक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।


वीरगन्जमा केही समयअघि भएको धार्मिक घटनाको प्रसंग उल्लेख गर्दै अर्यालले प्रहरी आफैँ घाइते भएर पनि संयमता अपनाएको बताए। प्रहरीले आफ्नो आत्मरक्षाका लागि कठोर कदम चालेको भए अवस्था झन् बिग्रिन सक्ने भन्दै उनले मानव अधिकारको ख्याल गर्दै घटना साम्य पारिएको जानकारी दिए।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले “नुनले आफ्नो नुनिलोपना गुमायो भने खोज्न कहाँ जाने?” भन्ने प्रश्न गर्दै मानव अधिकारको रक्षा गर्ने, लोकतान्त्रिक व्यवस्था र मौलिक हक तथा मानव अधिकार र सुशासन कायम गराउने निकाय तथा राज्यबाटै उल्लंघन भइरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरे। नेपाल मानव अधिकार शिक्षा समाजका प्रशिक्षण विभाग प्रमुख प्रा.डा. गोविन्द प्रसाद ढकालले मानव अधिकार हरेक क्षेत्र, हरेक तह र हरेक व्यक्तिले समान रूपमा पाउनुपर्नेमा जोड दिए। उनले समाजमा नकारात्मक विभेदभन्दा सकारात्मक विभेद अर्थात् समान प्रतिस्पर्धाको अवस्था सिर्जना हुनुपर्नेमा विशेष जोड दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाललगायत विभिन्न व्यक्तित्वहरूले पनि आफ्नो मन्तव्य राखेका थिए।यस प्रशिक्षण कार्यक्रमले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सबै सरोकारवाला निकाय र नागरिक समाजबीच समन्वय र सहकार्यको आवश्यकतालाई थप उजागर गरेको छ।

नेपाल बार एसोसिएसन पर्साका निवर्तमान अध्यक्ष कमल मोहन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल ,अधिवक्ताहरु , विभिन्न संचारमाध्यममा आबद्ध संचारकर्मीहरु ,प्रहरी लगायतको सहभागिता रहेको थियो ।

Related posts

राष्ट्रिय भूमि आयोग पर्साद्वारा जनप्रतिनिधीलाई अभिमुखीकरण

MadhesKhabar

इन्जिनियरको चुनावमा कांग्रेस निकटका उम्मेदवारहरु निर्वाचित (मत परिणामसहित)

MadhesKhabar

नेपाल-भारत युवा मैत्री संघ पर्साकाे अध्यक्षमा कांग्रेस युवा नेता यादव मनाेनित

MadhesKhabar

Leave a Comment