वीरगन्ज,२५असारःवीरगन्ज महानगरसहित पर्सा जिल्लामा केहिदिन यता चापाकल लगायतका खानेपानीका श्रोतहरु सुकेर हाहाकार भएपछि जनमत पार्टीका महिलाहरुले बुधबार वीरगन्जकोे सडकमै उत्रिएर प्रदर्शन गरेका छन् ।
जनमत पार्टीको भगिनी संगठन महिला जनमत संघ पर्साको अगुवाईमा पार्टीका महिला कार्यकर्ताहरुले घण्टाघर चोकस्थित सडकमा खाली घैटो र बाल्टिन राखेर प्रदर्शन गरेका हुन् ।‘जल सत्याग्रह’ नारा लेखिएको ब्यानरसहित सडक प्रदर्शनमा उत्रिएकाहरुले खानेपानीको संकट समाधानका लागि तीन वटै तहका सरकारसंग मागपनि गरे ।
प्रर्दशनमा सहभागीहरुले तीनै तहको सरकार आँखा खोल, पानी दे कि मारी दे , पर्सालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गर लगायतका नारापनि लगाए ।
प्रदर्शनमा सहभागी जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वीरगन्ज महानगरका साथै पर्सा जिल्लाका विभिन्न पालिकामा अहिले चापाकलहरु सुकेर त्राहीमाम् हुदाँपनि संघ, प्रदेश र स्थानीय तीनवटै सरकारले ध्यान नदिएकाले बाध्यभएर आन्दोलनमा उत्रिनु परेको बताए।
वीरगन्जममा गर्मीका बेला विगत ३ वर्षदेखि निरन्तर खानेपानीको संकट हुदैं आएपनि तीन वटै तहका सरकारले दीर्घकालीन समाधानका लागि ध्यान नदिएको उनले बताए । उनले भने,‘ तीन वटै तहका सरकार अन्धो,बहिरो भएर वीरगन्जलाई अपहेलित गरिरहेका छन् । वीरगन्जका मान्छेलाई पानी बिना मार्ने प्रयास गरिरहेको छ ।तसर्थ तीन तहकै सरकार गम्भीर भएर वीरगन्जलाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल विशेष प्याकेजमार्फत पानीको समस्या समाधान गरोस् ।’
मधेस प्रदेशमा आफ्नै पार्टीको सरकार भएको भन्दै उनले पानीको समस्या समधान नगरिए आँफुहरुले मुख्यमन्त्रीको कार्यालयपनि घेराउ गर्ने चेतावनी उनले दिए ।
यसपालिपनि गर्मी याम सुरु भएसंगै वीरगन्ज महानगरका सबै वडा तथा पर्र्सा जिल्लाका विभिन्न पालिकामा चापकलहरु सकेर खानेपानीको संकट हुदाँ यहाँको जनजीवन नै अस्तव्यस्त बनेको छ ।
संघीय सरकारको खानेपानी मन्त्रालय र वीरगन्ज महानगरपालिकाको कार्यालयले वीरगन्जका विभिन्न वडामा डीप बोरिङहरु जडान गरेर पानी आपुर्ति गर्दै आएपनि त्यसले समस्या समाधान हुन सकेको छैन । यसैबिच वीरगन्ज महानगरपालिकाले खानेपानीको ट्यांकरमा पानी ओसाररेर संकटग्रस्त वडाहरुमा खानेपानी वितरण गर्न थालेको छ । यसबाहेक टोल टोलमा २ हजार, ५ हजार र १० हजार लिटर क्षमताका खानेपानी ट्यांकी जडान गरेरपनि महानगरपालिकाले पानीको आपुर्तिको व्यवस्था मिलाएको छ ।

