वीरगन्ज,१०असारःवीरगन्ज महानगरपालिका–१० अशोकवाटीमास्थित रामचरण साह पानालाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । वडाध्यक्ष सुशील कुमार साह कानुको अग्रसरतामा विद्यालयमा अध्ययनरत बालविकास कक्षादेखि १० कक्षा सम्मका ३ सय ३८ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको हो ।
वडा नम्बर १० को वडा समितिको कार्यालयको बजेटमा विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको विद्यालय व्यवस्थापन समिमतिका सदस्य सन्तोष साहले जानकारी दिए । मंगलबार विद्यालयमै आयोजित कार्यक्रममा वडाध्ध्यक्ष कानुले विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको उनले बताए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष कानुले शिक्षामा बालबालिकाहरुको पहुच बढाउन र अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमा पठनपाठनका लागि आउन प्रोत्साहित गर्न विद्यालय पोशाक वितरण गरिएको बताए । वडाध्यक्ष कानुले शिक्षा नै समाज समृद्धिको प्रमुख स्तम्भ भएकाले शिक्षामा लगानी अझ बढाउनुपर्नेमा जोड दिए ।त्यसका लागि आँफु र वडा कार्यालयले विशेष ध्यान दिएकोपनि उनले बताए ।
पोशाक वितरण कार्यक्रममा वडा सदस्य मिश्रादेवी नगरकोटी,विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सन्तोष साह र रेखा जैशी, विद्यालयका प्रधानाध्यापक उमेशकुमार मिश्र , शिक्षक विनोद गिरि ,वडा कार्यालयका सचिव पवन प्रधान लगायतकाकोपनि सहभागीता थियो ।

