सिरहा, ५असार :खानेपानी मन्त्री प्रदीप यादवले सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना आज साकार भएको बताएको छ ।
बिहीबार धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले धनगढीमाईका हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्ति दिलाउनुका साथै उनीहरुको खानेपानीसम्बन्धीको समस्या समाधान भएको बताए।
उनले भने, “हामीले आजदेखि धनगढीमाई नगरपालिका वडा नं ११, १२ र १३ का हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्त गराएका छौँ । यो सरकारको नागरिकप्रतिको प्रतिबद्धताको उदाहरण पनि हो ।”
स्थानीय निकायसंगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पु¥याउने सरकारको प्रतिबद्धता रहेको समेत मन्त्री यादवले स्मरण गराए। “धनगढीमाईका बासिन्दाले विगतदेखि दैनिक रूपमा भोग्दै आएको पिउने पानीको सङ्कट अन्त्य भएको छ,” उनले भने, “अब नागरिकलाई शुद्ध, सुरक्षित र नियमित पानी आपूर्ति हुने विश्वास दिलाउँछु ।”
मन्त्री यादवले यो आयोजना मार्फत नगरवासीलाई घरदैलोमै स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी पु¥याइ यहाँका स्थानीयवासीको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।
खानेपानी मन्त्रालयकी सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्यले मन्त्रालयको नीति तथा योजनाले नागरिकको हित र समुन्नतीलाई केन्द्रबिन्दुमा राखि सुरक्षित, भरपर्दो र दिगो खानेपानी सेवा प्रवाह सुनिश्चित गर्ने प्रमुख लक्ष्य रहदै आएको बताइन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामुकमार श्रेष्ठले खानोपानी विभागले मानव विकास सुचाङ्क कम भएका स्थानमा प्राथमिकताका साथ खानेपानी योजना कार्यन्वयन गरिरहेको र तराई मधेसका २८० वटा अधुरो योजनाहरु सञ्चालन गर्न नीतिगत सुधार गरि कार्यन्वयन गर्ने तयारीमा रहेको जानकारी दिए ।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद सिंह तथा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले धनगढीमाई नगरपालिकाको वडा नम्बर ११,१२ र १३ मा निर्माण सम्पन्न भएको डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाले यहाँका नागरिकहरुको पानीको समस्या दीर्घकालिन रुपमा समाधान गरेको भन्दै खुशी व्यक्त गरे ।
१० करोड ९४ लाख रुपैयाँको लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको उक्त आयोजनाबाट वडा तीन वटा वडाका कम्तिमा पनि एक हजार ५०० घरधुरीका ८ हजार ६ सय जना लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका आयोजना प्रमुख हरिप्रसाद शर्माले जानकारी दिए ।

