सिन्धुपाल्चोक,३असार : खानेपानीमन्त्री प्रदीप यादवले अब बर्षा यामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँबासीका घरघरमा वितरण हुने बताएका छन् ।
सोमबार मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयांकीको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले अब बर्षातको समयमा पनि काठमाडौँबासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए ।
उनले भने,“काठमाडौँमा पानी बितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयांकीको आज सफल परिक्षण भएको छ । बर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरेका छौँ ।”
बर्षायाममा रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गबाट पठाइने र काठमाडौँबासीलाइ उक्त खोलाको पानी बाह्रै महिना निर्वाध रुपमा वितरण गरिने मन्त्री यादवले जानकारी दिए । उनले भने, “यो व्यवस्थाले उपत्यकावासीको दीर्घकालीन खानेपानी समस्याको दीगो समाधान गर्ने अपेक्षा गरिएको छ । अब काठमाडौँका नागरिकले वर्षायाममा पानीका लागि दुःख पाउनु पर्दैन । हामी जिम्मेवार सरकार हौँ, जनताको प्राथमिकता बुझ्नु र समाधान गर्नु हाम्रो दायित्व हो ।”
रिबर्माको पानी परिक्षण गरिएसँगै वर्षायामको बेला हरेक वर्ष मेलम्चीको पानी वितरणमा अवरोध आउने परम्परालाई तोड्दै मन्त्री यादवको सक्रिय पहलमा यसपालि वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौँमा आउने सुनिश्चित भएको बताइएको छ ।
बर्षातको समयमा मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न नसकिने अवस्थामा मेलम्चीकै टनेलबाट रिर्बामाबाट दैनिक पाँचदेखि सात करोड लिटर पथान्तरण गर्न सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले जानकारी दिए ।
विगतमा वर्षा र बाढीका कारण मेलम्ची सुरुङ बन्द गर्नुपरेको इतिहासलाई ध्यानमा राख्दै, यसपालि प्रविधि र पूर्वतयारीमा विशेष ध्यान दिइएको कार्यकारी निर्देशक लामिछानेले बताए ।
२०७८ सालको विनाशकारी बाढीले मेलम्चीको मुहान क्षेत्रमा पु¥याएको क्षतिपछि बर्षायामको समयमा नियमित खानेपानी आपूर्तिमा अवरोध उत्पन्न भएको थियो ।

