जनकपुर,१७जेठःमधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक निर्वाचन क्षेत्र, एक सडक योजनाअन्तर्गत ८ वटै जिल्लामा ६४ वटा कालोपत्रे सडकको निर्माण थाल्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनबाट ६४ वटै सडकको एकैसाथ डिजिटल शिलान्यास गर्दैछन् ।मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार सिंहले सडक शिलान्यास र प्रधानमन्त्री ओलीको जनकपुर भ्रमणको सबै तयारी पूरा भएको जानकारी दिए ।
मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले मधेसका ८ जिल्लाका ६४ वटा निर्वाचन क्षेत्र(प्रदेश) मा साढे ५ देखि ७ मिटरसम्मको कालोपत्र सडकका लागि स्रोत सुनिश्चित भइसकेको बताए । ‘बहुवर्षीय योजनाअन्तर्गत ३ वर्षमा ६४ वटै कालोपत्रे सडकको निर्माण पूरा गर्ने लक्ष्य छ,’ मन्त्री यादवले भने, ‘त्यहीअनुसार करिब १२ सय ७० करोड रुपैयाँ एक निर्वाचन क्षेत्र, एक सडक योजनामा छुट्टयाइएको छ ।’
सम्बन्धी निर्वाचन क्षेत्रका प्रदेश सांसदले छनोट गरेर दिएका सडकलाई कालोपत्रे गरिनेछ । भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव संजयप्रसाद साहले एक निर्वाचन क्षेत्र, एक सडक योजनाअन्तर्गत ६४ वटै निर्वाचन क्षेत्रमा ५ किलोमिटरको कालोपत्रे सडक निर्माण गरिने जानकारी दिए ।
उनका अनुसार मधेस प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा तीन वर्षमा ३ सय २० किलोमिटर कालोपत्रे सडकको निर्माण गरिनेछ ।साभारः इकान्तिपुर

