वीरगन्ज,१३जेठःपर्सामा सकृय राजनीतिक दलहरूले संयुक्त रूपमा गणतन्त्र दिबस मनाउने निर्णय गरेका छन् ।मंगलबार वीरगन्ज–२४ रामगढवास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको मुख्य राजनीतिक दलहरुको बैठकले जेठ १५ गते वीरगन्जमापनि संयुक्त रुपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जेठ १५ गते साँझ वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर अगाडि दीप प्रज्वलन गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरिएको बैठकमा सहभागी रास्वपाका जिल्ला सभापति हरि पन्तले जानकारी दिए ।
नेपाली काङ्ग्रेसका कार्यबाहक सभापति राम नारायण कुर्मीको अध्यक्षता बसेको सर्बदलिय बैठकले उक्त निर्णय गरेको हो ।
पछिल्लो समय गणतन्त्रमाथि निरन्तर प्रहार भैरहेको सन्दर्भमा गणतन्त्र पक्षधर राजनीतिक दलहरुले संयुक्त रुपममा गणतन्त्र दिवस मनाउँदा यसले आम जनतामा गणतन्त्रप्रति ऐक्यबद्धता र सकारात्मक सन्देश जाने आपेक्षा गरिएको सभापति पन्तले बताए ।
बैठकमा सहभागी नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष बालगोपाल थापाले केही राजनीतिक दल र नेताहरुप्रति आमजनतामा वितृष्णा पैदा भएपनि समग्र गणतान्त्रिक ब्यवस्थाप्रति भने आम नेपाली जनताको अगाध विश्वास रहेको दाबी गरे ।
जेठ १५ को दीप प्रज्वलन कार्यक्रममा जनताको उपस्थित उल्लेख्य संख्यामा रहने नेकपा एमालेका पर्साका सचिव महेश दासले बताए ।
नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मीको अध्यक्षतामा बसेको बैठकमा जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जनमत पार्टीका नेता राजनारायण मिश्र, महादेव शर्मा, नेकपा एकिकृत समाजवादीका नेता मनोज चौधरी लगायतकाकोपनि सहभागिता थियो ।