वीरगन्ज,१३जेठःवीरगन्ज महानगरपालिकामा रहेको मुख्य ड्रेन (ठूलो नाला) को झण्डै ३० वर्षपछि सफाई गर्ने काम तिब्र गतिमा भइरहेको छ ।
शहरको बीच भागमा रहेको करिब तीन किलोमिटर मुख्य ड्रेन (ठूलो नाला) निर्माण भएयता सफाई नभएका कारण हरेक वर्षायाममा पानी परेका बेला पानीको निकास थुनिएर वीरगन्जको शहरी क्षेत्र डुबानमा पर्दै आएको छ ।
त्यसैलाई मध्यनजर गरेर वीरगन्ज महानगरपालिकाले पहिलो पटक मुख्य ड्रेन (ठूलो नाला) को सफाई गरिरहेको हो । जिल्ला हुलाक कार्यालय अगाडिदेखि पानगल्ली, लाठ गल्ली, आदर्शनगर हुदैं वीरगन्ज भन्सारसम्मको करिब तीन किलोमिटर मुख्य ड्रेन (ठूलो नाला) को सफाईको काम विगत एक महिनादेखि चलिरहेको प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले बताए ।
निर्माण भएयता अहिलेसम्म एक पटकपनि सफाई नगरिएका कारण मुख्य ड्रेन (ठूलो नाला) लेदो, फोहोर लगायतले पुरिएका कारण हरेक वर्षा यामममा पानी परेका बेला निकास थुनिएर वीरगन्ज शहर डुबानमा पर्दै आएको उनले बताए ।
वर्षामा वीरगन्ज शहरलाई डुबानबाट जोगाउनकै लागि मुख्य ड्रेन (ठूलो नाला) पहिलो पटक विशेष रुपमा सफा गर्न थालिएको उनले बताए । उनले भने,‘ यो नाला बनेदेखि यता एकपटक पनि सफाई नभएको वीरगन्जबासी बताउँछन् ।लेदोसहितको फोहोरले ८/९ फिटसम्म नाला पुरिएको रहेछ । पुरै नाला नै पुरिएपछि वर्षाको पानीले निकास नै नपाएर शहरी क्षेत्र डुबानमा पर्दै आएको छ ।’
मुख्य ड्रेन (ठूलो नाला) को सफाईमा विगत एकमहिनादेखि चार वटा एक्साभेटर र ५÷६ वटा ट्रयाक्टरसंगै १० भन्दा बढी सफाईकर्मी खटाइएको वीरगन्ज महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँले बताए । एक्साभेटर र ट्रयाक्टर लगाएर बिहानदेखि मध्यरातसम्म मुख्य ड्रेन (ठूलो नाला) को सफाईको काम चलिरहेको उनले जानकारी दिए । मियाँले भने,‘ मुख्य ड्रेनभित्रै एक्साभेटर पसाएर लगभग ८÷९ फिटसम्म जमेको लेदोसहितको माट निकाल्ने काम भइरहेको छ ।निकालिएको लेदोसहितको माटो लगत्तै ट्रयाक्टरमा हालेर अन्यत्र पठाउने गरिएको छ।’
मुख्य ड्रेन (ठूलो नाला) सफाईमा महानगरपालिकाले अपुग एक्साभेटर र ट्रयाक्टर भाडामा ल्याएर प्रयोग गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए । मुख्य ड्रेन (ठूलो नाला) को सफाईमा ५० लाख रुपैयाँभन्दा बढी रकम खर्च हुने अनुमान रहेको उनले मधेसखबरलाई बताए । उनले भने,‘हामीले १० दिनमै काम सकिन्छ भनेर अनुमान गरेका थियौं । तर एक महिना भयो अहिलेसम्म आधाभन्दा केहि बढीमात्रै नाला सफा भएको छ । अझै कम्तिमा ३ हप्ता जति लाग्छ होला ।’
मुख्य ड्रेन (ठूलो नाला) को भइरहेको सफाई कार्यको निरन्तर निरीक्षण गर्दै आएका महानगरका मेयर राजेशमान सिंहले मुख्य ड्रेन (ठूलो नाला) सफा गरिएपछि यसवर्ष वर्षा याममा वीरगन्ज शहर डुबानमा नपर्ने अपेक्षा गरिएको बताए ।
मंगलबारपनि वडा नम्बर ११ र १३ मा भइरहेको ठूलो नालाको सफाई कार्यको स्थलगत निरीक्षण गर्न पुगेका मेयर सिंहले मधेसखबरसंग भने,‘हरेक वर्षामा वीरगन्ज शहर डुबानमा पर्दै आएका कारण वीरगन्जबासी आजित थिए । त्यसैलाई मध्यनजर गरेर महानगरले मुख्य ड्रेन (ठूलो नाला) को विशेष सफाई गरिरहेको छ । आशा छ अब वर्षामा वीरगन्ज शहर डुबानमा पर्दैन होला।’
नाला सफाईसंगै ठाँउ ठाँउमा गरिएको नालाको अतिक्रमण हटाउने कामपनि महानगरपालिकाले गरिरहेको उनले बताए ।

