प्रमोद यादव
पर्सा,१२जेठःमधेस प्रदेशका प्रदेशसभा सदस्य श्याम पटेलले समाजमा असफल भएकाहरू राजनीतिमा प्रवेश गरेर युवा नेता बनेझैं लेख्न, बोल्न नआउनेहरू अहिले युटुबर, फेसबूकियाजस्ता डिजिटल पत्रकार बनेको टिप्पणी गरेका छन् ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयको सहयोग तथा नेपाल पत्रकार महासंघ पर्साको समन्वयमा आइतबार वीरगन्जमा आमसञ्चार प्राधिकरण जनकपुरले आयोजना गरेको साइबर सुरक्षा र एआईसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेतासमेत रहेका पटेलल अहिले युटुबर, फेसबूकियाजस्ता डिजिटल पत्रकारले समाजलाई नकारात्मक दिशातर्फ डो¥याउने काम गरिरहेको आरोपपनि लगाए ।
उनले प्राकृतिक बौद्धिकताभन्दा अहिले कृत्रिम बौद्धिकता प्रदान गर्नेहरूको लर्काे लागेको र त्यसैमा केही पत्रकारहरू सामेल भएको देखिएको बताए । उनले पत्रकारिता समाजको ऐना हुनुपर्नेमा दल र व्यक्तिविशेषको हनुमान भएर प्रस्तुत भएको भन्दै पत्रकारलाई आफ्नो पेशा नबिर्सन सुझाए । उनले नकारात्मक राजनीति र नकारात्मक पत्रकारिताले समाजलाई सही दिशा प्रदान नगर्ने भन्दै सुधार गर्न आग्रह पनि गरे ।
नेपाल पत्रकार महासंघको लेखा समितिका सदस्य केसी लामिछानेले अनलाइन युटुबर पत्रकारलाई पत्रकारिताकोे मापदण्ड थाहा नभएको र हचुवाको तालमा पत्रकारिता गर्दै आएको आरोप लगाए । उनले यस प्रकारका पत्रकारिताको शुद्धीकरण आवश्यक भएको औंल्याए ।
पाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारिताको विषयलाई गहिरो अनुसन्धान गरि पस्कन सुझाए । उनले समाचार पस्कने क्रममा कसैसँग डराउन आवश्यक नभएको तर्क गर्दै निडरतापूर्वक गरिने पत्रकारिताको संरक्षण नेपाल पत्रकार महासङ्घले गर्ने बताए । उनले पत्रकारहरूमा सीप नसिक्ने, तालीममा भत्ता र सुविधाका लागि हाजिर गरेर टाप कस्ने प्रवृत्ति हाबी भएको भन्दै यसले पत्रकारिता क्षेत्रको विकास नहुने बताए ।नेपाल पत्रकार महासंघका पूर्वसचिव दीपेन्द्र चौहानले सही सूचना सम्प्रेषण गर्ने पत्रकारको अहिले आवश्यकता भएको बताए ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले साइबर सुरक्षा र एआई तालीम अहिले अतिआवश्यक भएकोले कार्यक्रम आयोजना गरिएको बताए । उनले डिजिटल माध्यमबाट पत्रकारिता गर्ने पत्रकारले आचारसंहिता अध्ययन गरेर मापदण्डमा रही पत्रकारिता गर्दा भविष्य उज्ज्वल हुने बताए ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्र खड्काले सूचना सीपसँगै दर्शक, पाठक, श्रोतालाई डिजिटल साक्षरता प्रदान गर्नुपर्ने सुझाव दिए । उनले पत्रकारको दुर्घटना र स्वास्थ्य बीमा भएकोमा अहिलेसम्म चार÷पाँच जना पत्रकारले मात्र बीमा दाबी गरेको बताए ।
साइबर सुरक्षा र एआइसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागी पत्रकारहरूलाई प्रकाश मैनाली र जीवन भण्डारीले प्रशिक्षण दिएका थिए ।

