वीरगन्ज,११जेठःवीरगन्ज महानगरपालिकाले धान खेतीका लागि किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गर्न सुरु गरेको छ । महानगरपालिकाले बजारमा पर्ने मूल्य भन्दा आधा भाउमा किसानहरुलाई धानको उन्नत बीउ वितरण गर्न थालेको हो ।
महानगरका ३२ वटै वडाका किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ गत शुक्रबारददेखि वितरण गनर्न थालिएको महानगरपालिकाको कृषि तथा पशुपंक्षी व्यवसाय प्रबर्धन शाखाकी प्रमुख रोशनी यादवले जानकारी दिइन् ।
उनका अनुसार, किसानहरुलाई धान खेतीका लागि स्वर्णसब १ र बहुगुणी २ जातको धान किलोको ३५ रुपैयाँको दरले र हर्दिनाथ जातको धान किलोको ३७ रुपैयाँको दरले वितरण गर्न थालिएको हो ।
यसपालिको भदैया र अगहनी धान खेतीका लागि किसानलाई वितरण गर्न महानगरपालिकाले ८६५ बोरा अर्थात ३१ मेट्रिक टन उन्नत जातको धानको बीउ खरिद गरेको कृषि तथा पशुपंक्षी व्यवसाय प्रबर्धन शाखाकी प्रमुख रोशनी यादवले जानकारी दिइन् ।
महानगरपालिकाको वारुण यन्त्र शाखा परिसरबाट किसानलाई ती धानको बीउ वितरण भइरहेको उनले बताइन् । इच्छुक किसानले कार्यालय समयभित्र वारुण यन्त्र शाखा परिसरमा सम्पर्क गरेर धानको उन्नत बीउ लिन सक्नेपनि उनले बताइन् ।
किसानले धान खेती गर्ने जग्गाको क्षेत्रफल अनुसार अर्थात १ कठ्ठा खेतीको लागि १ किलोको दरले धानको उन्नत जातको बीउ वितरण भइरहेको उनले बताइन् । यादवका अनुसार, वीरगन्ज महानगरका ३२ वटै वडामा गरेर धान खेती हुने योग्य जग्गाको क्षेत्रफल ६ हजार ७ सय ४९ हेक्टर रहेको छ ।

