काठमाडौं,६जेठःराष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि जेठ १५ गतेदेखि सुरु हुने आफूहरूको आन्दोलन हिंसात्मक नहुने र सरकारी पक्षलाई पनि गर्न नदिने बताएका छन्।
राजतन्त्र पुनस्र्थापनाका संयुक्त जनआन्दोलन समिति र घटक दलहरूको तयारी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूको आन्दोलनको अनुगमन गर्नको लागि मानवअधिकार आयोगहरूलाई पनि आग्रह गरे।
सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनले बताए। अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने बताए। यस पटकको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने भन्दै जिकिर गरे।
उनले भने, ‘हाम्रै छिमेकमा १९० वर्ष पुरानो ब्रिटिस शासनलाई सत्याग्रहको बाटोबाटै अन्त्य गरिएको थियो। हामी यो गणतन्त्रलाई पनि सत्याग्रहको बाटोबाटै अन्त्य गर्छौँ। अस्ति भर्खरै प्रधानमन्त्रीले संसदमा भन्दै हुनुहुन्थ्यो। अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो भन्नुभयो। भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले। हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने। त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो। लाने हो यसपालि टुंग्याएर छाड्ने हो।’ उनले इमान्दार भएर आन्दोलनरतलाई सफल बनाएर छाड्न लागि अपिलपनि गरे।साभारः नेपालप्रेस

