Madhes Khabar
अर्थतन्‍त्र

देशभरका ६ महानगरको बेरुजु : काठमाडौं पहिलो स्थानमा र विराटनगर अन्तिममा

काठमाडौं,२जेठः म्याद नाघेको पेस्की समेत गरी देशभरका ६ महानगरपालिकामा एकै वर्ष एक अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

कानुन बमोजिम रित नपु¥याइ कारोबार गरेको, बेमुनासिब वा हिनामिना देखिएको भनी लेखापरीक्षकले कैफियत जनाएको रकमलाई बेरुजु भनिन्छ ।

महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) मा उल्लेख भएअनुसार, उक्त अवधिमा महानगरहरूको ७५ अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो ।

लेखापरीक्षण गरिएको रकममा म्याद नाघेको पेस्कीसमेत गरी १ अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बेरुजु देखिएको र बेरुजुमध्ये पेस्की रकम १६ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

६ वटा महानगरको लेखापरीक्षणको तुलनामा २.१० प्रतिशत बेरुजु भएको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको हो ।

काठमाडौं महानगर पहिलोे

काठमाडौं महानगरपालिकाले बेजुरु बनाउने महानगर सूचीमा पहिलोे स्थान ओगटेको छ ।महालेखाले आर्थिक वर्ष २०८०÷८१ का लागि काठमाडौंको २७ अर्ब ५२ करोड ४४ लाख ६ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेको थियो ।लेखापरीक्षण गरिएकोमध्ये ६८ करोड दुई लाख ३६ हजार रुपैयाँ बेरुजु निस्कियो । बेरुजु निस्किएको रकम कुल लेखापरीक्षण गरिएको रकमको २.४७ प्रतिशत हुन आउँछ ।

काठमाडौंले संघीय, प्रदेश अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोषसमेत गरी आर्थिक वर्ष २०८०/८१ वर्षमा १२ अर्ब ८८ करोड ३१ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो ।काठमाडौंले आर्थिक वर्ष २०८०/८१ म चालु, पुँजीगत र अन्य खर्च गरी १४ अर्ब ६४ करोड १२ लाख ५१ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको छ ।

पोखरा महानगर दोस्रो

पेखरा महानगरपालिकाले बेजुरु बनाउने महानगर सूचीमा दोस्रोे स्थान ओगटेको छ ।महालेखाले कास्कीस्थित पोखरा महानगरको १३ अर्ब ४६ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेको थियो, जहाँ ५० करोड ४३ लाख ९ हजार रुपैयाँ बेरुजु निस्कियो ।पोखरामा भेटिएको बेरुजु लेखापरीक्षण भएको रकमको ३.७४ प्रतिशत हो, जुन अन्य महानगरमा भन्दा बढी हो ।

पोखराले आर्थिक वर्ष २०८०/८१ म संघीय, प्रदेशको अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोषसमेत गरी जम्मा ६ अर्ब ४३ करोड ६१ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको थियो । चालु, पुँजीगत र अन्य गरी सात अर्ब तीन करोड ११ लाख २९ हजार रुपैयाँ खर्च गरेको थियो ।

वीरगन्ज महानगर तेस्रो

देशभरका ६ महनागरमध्ये वीरगन्ज महानगरपालिकामा तेस्रोे बढी बेरुजु निस्किएको छ ।पर्सास्थित वीरगन्ज महानगरपालिकामा महालेखाले ६ अर्ब २८ करोड १६ लाख ५१ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेको थियो । जहाँ आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ७५ लाख ६ हजार रुपैयाँ बेरुजु भेटिएको हो ।वीरगन्ज महानगरमा भेटिएको बेरुजु रकम लेखापरीक्षण भएको रकमको ३.६२ प्रतिशत हो ।

वीरगन्ज महानगरले संघीय तथा प्रदेश अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोष समेत गरी तीन अर्ब १२ करोड २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालु, पुँजीगत र अन्य गरी तीन अर्ब १६ करोड १६ लाख २५ हजार रुपैयाँ खर्च गरेको थियो ।

 

भरतपुर महानगर चौथो

चितवकने भरतपुर महानगरपालिका बेरुजुका हिसाबले चौथो नम्बरमा रहेको छ ।महालेखाले नेपालकै उत्कृष्ट पालिका भनेर चिनिएको चितवन भरतपुरमा ११ अर्ब १३ करोड ३ लाख २९ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेको थियो ।लेखापरीक्षण गर्दा १० करोड २ लाख ७९ हजार रुपैयाँ बेरुजु निस्कियो, जुन लेखापरीक्षण भएको रकमका आधारमा ०.९० प्रतिशत हो ।

आर्थिक वर्ष २०८०/८१ मा भरतपुर महानगरले संघीय, प्रदेश अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोष समेत गरी जम्मा पाँच अर्ब ४९ करोड ९८ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको थियो ।महानगरले सोही वर्ष चालु, पुँजीगत र अन्य खर्चसमेत पाँच अर्ब ६३ करोड चार लाख ३० हजार रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

ललितपुर महानगर पाँचौँ

ललितपुर महानगरपालिका बेरुजु रकमका हिसाबले पाँचौँ नम्बरमा छ । ललितपुर महानगरको १० अर्ब ६८ करोड ९७ लाख हजार रुपैयाँ बराबरको लेखापरीक्षण हुँदा ५ करोड ५५ लाख २१ हजार रुपैयाँ बेरुजु निस्किएको छ, जुन लेखापरीक्षण भएको रकमको ०.५२ प्रतिशत हो ।

ललितपुरले आर्थिक वर्ष २०८०/८१ मा संघीय, प्रदेश अनुदार, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोषसमेत गरी जम्मा चार अर्ब ९१ करोड ८० लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ ।

उक्त वर्ष ललितपुरमा चालु, पुँजीगत र अन्य खर्च गरी पाँच अर्ब ७७ करोड १६ लाख ८५ हजार रुपैयाँ खर्च भएको थियो ।

विराटनगर महानगरमा सबैभन्दा कम बेरुजु

महानगरमध्ये सबैभन्दा कम बेरुजु विराटनगर महानगरपालिकामा निस्किएको छ ।आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख २१ हजार रुपैयाँ बराबर लेखापरीक्षण गर्दा २ करोड ८ लाख ५७ हजार रुपैयाँ बेरुजु निस्कियो ।जुन रकम देशभरका महानगरमा भेटिएको बेरुजुमध्ये सबैभन्दा कम हो ।

विराटनगर उक्त आर्थिक वर्षमा संघीय, प्रदेश अनुदार, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोषसमेत गरी तीन अर्ब १० करोड ८९ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।सोही अवधिमा चालु, पुँजीगत र अन्य खर्च गरी तीन अर्ब ३३ करोड ८६ लाख ८२ हजार रुपैयाँ खर्च गरेको थियो । साभारः खबरहब

 

Related posts

पेट्रोलियम पदार्थको मुल्यमा फेरि वृद्धि , ग्याँसकाे भाउ अब २ हजार ११० रुपैयाँ

MadhesKhabar

चाडपर्वका लागि वीरगन्ज नाकाबाट भित्रियो १ सय १० टन चिनी

MadhesKhabar

नेपाल बैंकबाट २० अर्ब रुपैयाँ गायब

MadhesKhabar

Leave a Comment