वीरगन्ज,१८बैशाखःभारतको पहलगाममा आतंकी हमलापछि भारत र पाकिस्तानबीच तनाव चलिरहेका बेला नेपालको नाकामा पनि सुरक्षाकर्मीले कडाई गर्न थालेका छन् ।
भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख स्थल नाका वीरगन्ज–रक्सौल नाकामा पनि दुवै देशका सुरक्षाकर्मीले सीमा आरपार आवतजावतमा कडाई गरेका हुन् ।दुवै देशका सुरक्षाकर्मीले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने व्याक्तिहरुलाई पहिचान खुल्ने परिचयपत्र हेरेर मात्रै प्रवेश गर्न दिएका छन् ।
यसअघि भारतमा नेपालीले यात्रा गर्दाै हवाई तथा रेलमार्गमा मात्र परिचयपत्र अनिवार्य थियो ।नेपालमा यात्रा गर्र्दा भारतीयलाई भने कुनै परिचयपत्र देखाउनुपर्ने अनिवार्यता थिएन ।यस्तै सीमावर्ती भारतीय बजार क्षेत्रमा आवतजावत गर्दा नेपालीलाईपनि परिचयपत्र अनिवार्य थिएन।
यहि बैशाख १५ गते भारत बिहारको पश्चिम चम्पारणको मानपुर थाना अन्तर्गत पर्ने चित्रसेनको तीनलालटेन गाउँमा अवस्थित भारतीय सिमा सुरक्षा बल (एसएसबी) क्याम्पमा दुवै देशका सीमावर्ती क्षेत्रका सीमा सुरक्षा बल प्रमुखहरुको बैठक बसेको थियो । उक्त बैठकमा नेपालका तर्फबाट पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल र बाराका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी सहभागी थिए । भारतको तर्फबाट भने एसएसबीका ४४ र ४७ बटालियनका उच्च अधिकारी सहभागी थिए।
उक्त बैठकमै दुवै देशका सीमा सुरक्षा बलका अधिकारीहरुबीच नेपाल–भारत सीमा नाकामा आवतजावत गर्नेहरुको चेकजाँचमा कडाई गर्ने सहमति भएको हो ।
बैठकमा सहभागी पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले भने,‘ सीमा आरपार आवत जावत गर्नेहरुको चेकजाँचमा कडाई गर्ने सहमति भएको हो । निर्णय नै भएको चाहि होइन ।उक्त सहमतिको कार्यान्वयनका लागि अहिले ट्रायल मात्र चलिरहेको छ।’
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि नेपाल–भारत आवतजावत गर्नेहरुको सीमा नाकामा चेकजाँचमा कडाइ गरिएको पुष्टि गरे ।नाकाबाट हुनसक्ने अवैध घुसपैठ र अनाधिकृत व्याक्तिको प्रवेशलाइ निरुत्साहित गर्न सीमानाकामा थप सतर्कता अपनाएर चेकजाँचमा कडाई गरिएको अर्यालले बताए ।भारतीय समकक्षीहरुको सुचना र समन्वयमै वीरगन्ज नाकामापनि अहिले चेकजाँचमा कडाई गरिएको उनले बताए ।
भारत–पाकिस्तानबीचको सम्बन्धमा पछिल्लो समय विकसित अवस्थालाईपनि मध्यनजर नाकाको चेकजाँचलाई प्रभावकारी बनाइएको उनले बताए ।‘नेपाली नागरिक सीमापारी रक्सौल जाने क्रममा सीमामा भारतीय सुरक्षाकर्मीले गर्ने व्यवहार जस्तो हुन्छ ,भारतबाट नेपाल आउनेहरुसंग पनि हाम्रो सीामानाकामा हाम्रोतर्फबाट पनि उस्तै व्यवहार हुन्छ।’,अर्यालले भने ।