वीरगन्ज,१७बैशाखःवीरगन्जमा विहे,उत्सव, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा आतिशबाजी र पटका पड्काउन बन्देज गरिएको छ ।बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले विहे,छेका(टीकाटालो),ब्रतबन्ध,उत्सव,धार्मिक तथा सांस्कृतिक कार्यक्रममा आतिशबाजी र पटका पड्काउन बन्देज लगाउने निर्णय गरेको हो ।
बैठकमा ध्वनि प्रदुषणलाई मध्यनजर गर्दै त्यस्ता उत्सव वा सभा–समारोहमा डिजेलाई पनि अब क्रःमश निरुत्साहित गर्दै जाने सहमतिपनि भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । हालका लागि डिजे राति १० बजे पछि पुर्णरूपमा रूपमा निषेध गर्ने सहमति भएको भन्दै अर्यालले अब छिट्टै अन्य सरोकारवालाहरुसंग पनि बैठक राखेर पर्सा जिल्लामा डिजेलाई पनि पुर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरिने जानकारी दिए ।
बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बुधबारको बैठकमा भएको सहमतिलाई सबै पक्षले अक्षरश पालना गर्नुपर्ने बताए । यदि पालना नगरिएको भेटिएमा सम्बन्धित व्याक्ति वा संस्थालाई प्रचलित कानूनी कारबाहीको दायरामा ल्याइने चेतावनीपनि उनले दिए ।
बैठकमा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले भारतीय सिमा नाकाबाट नियम विपरित भित्रिने डिजेका उपकरण ,पटाका र आतिशबाजीजन्य वस्तुहरुमा कडाईका साथ चेकजांँच गरिने बताए ।
बैठकमा होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले भोजभतेर वा उत्सवका लागि पार्टी प्यालेस वा होटल बुक हुँदा प्रायः अग्रिम बुकिङ् हुने हुँदा अधिकांश ग्राहकले डिजे सहित नै बुक गर्दै आएकाले अहिले नै डिजेलाई पुर्णरूपमा बन्द गर्ने अवस्था नरहेकोले यसका लागि केही समय मागिएको र त्यँही बमोजिम हालका लागि राति १० बजेपछि मात्र डिजे बजाउन निषेध गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकमा होटल तथा पर्यटन व्यवसायी संघका महासचिव माधव बस्नेत,आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रतिनिधी,पर्यटन कार्यालय पर्साका प्रमुखका साथै वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।

