वीरगन्ज,१७बैशाखःजनकपुरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर दीपेन्द्र कुमार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।
इन्जिनियर साहले जनकपुरस्थित कार्यालयमा कार्यरत रहेका बेला ब्यापक भ्रष्ट्राचार र अनियमितता गरेको उजुरी परेपछि अख्तिरयारले अनुसन्धान थालेको हो । अनुसन्धानका लागि अख्तियारले उनलाई बोलाएको खानेपानी मन्त्रालयका एक कर्मचारीले बताए ।
खानेपानी तथा ढल व्यपस्थापन योजना कार्यालयमा निमित कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका बेला साहले ब्रम्हलुुट मच्चाएपछि त्यसको विरोधमा कार्यालयका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी समेत गरेका थिए । इन्जिनियर साहको हैकमवादी कार्यशैलीबाट आफुहरु आजित भएको भन्दै कर्मचारीहरुले मन्त्रालयमा उजुरीसमेत दर्ता गराइसकेका छन् । उनिविरुद्ध खानेपानी मन्त्रालय,मातहतको बिभाग , अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेको कर्मचारीहरुले जानकारी दिएका छन् ।
गत फागुन १८ गते कायममुकायम सिडिइ लोकेन्द्र प्रसाद यादवको मेलम्ची खानेपानी विकास समिति काठमाडौंमा सरुवा भएपछि लगतै जनकपुर कार्यालयमा संघीय खानेपानी मन्त्रालयले गत फागुन १९ गते इन्जिनियर दीपेन्द्र कुमार साहलाई त्यहा खटाएको थियो ।
गत फागुन २२ गतेदेखि निमित्त प्रमुखको रुपमा कार्यभार सम्हालेका साहको अनियमितताले सीमा नघोपछि त्यसको विरोधमा कार्यालयका कर्मचारीहरुले दुइ हप्तापनि नबित्दै खानेपानी मन्त्रालयमा ६ बुँदे मागसहितको संयुक्त निवेदन दर्ता गराएका थिए।
उक्त निवेदनमा साहले सरकारी निति विपरित सुरक्षा गार्डको नियुक्ति गरेको,अधिकार नै नपाउने स्वकिय सचिवपनि नियुक्त गरेको उल्लेख थियो ।साथै साहले करारका सबै कर्मचारीलाई बर्खास्त गरेर आफ्ना निकटका सुनिल अधिकारीलाई करारमा नियुक्त गरेको आरोपनि कर्मचारीहरुको थियो ।झोलामै दर्ता चलानीको रजिष्टर राख्दै आएका साहले होटलमै बसेर योजनाहरु वितरण गर्ने गरेको आरोपपनि कर्मचारीहरुको थियो ।
आयोजना प्रमुखका रूपमा जिम्मेवारी पाएका होटलमै बसेर सिराहा,सप्तरी र महोत्तरीका व्यक्तिहरुलाई १० हजारमै कार्ययोजनाको पत्र प्रदान गर्ने र १० प्रतिशत कमिशनमा उपभोक्ता समितिहरुलाई योजनाहरु वितरण गरेर व्यापक भ्रष्टाचार गरेको उनकै कार्यालयका कर्मचारीहरुले लगाउदै आएका थिए ।
निमित्त कार्यालय प्रमुख साहले पहिलाका कार्यालय प्रमुखले वितरण गरेका योजनाहरुको काम सुरु भइसकेको अवस्थामा समेत समानान्तर उपभोक्ता समिति खडा गरेर लाभान्वित स्थानियबासीबीच नै विवाद सिर्जना गर्न थालेपछि कतिपय सांसदलेपनि साहको विरोधमा खानेपानीमन्त्री प्रदीप यादवलाई भेटेर साहका बारेमा गुनासो गरेका थिए ।
कार्यालयका कर्मचारीहरुद्धारा कार्यालयमा तालाबन्दी र सत्ताधारी गठबन्धन दलका सांसदहरुको विरोधपछि इन्जिनियर साहको खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागमा सरुवा गरिएपछि साहले अहिले केहि मिडिया र सोसलमिडियामा अनेक लाञ्छना लगाउँदै आएका छन् ।
खानेपानी मन्त्रालयका एक उच्च कर्मचारीले भने,‘ कार्य सम्पादन मुल्याकंनका आधारमा कर्मचारीको सरुवा बढुवा गर्ने मन्त्रालयको नियमित प्रक्रिया हो । सरकारी नीतिनियम विपरित काम गरेका साहलाई मन्त्रालयले कारबाही स्वरुप सरुवा गरेको भन्दै ती कर्मचारीले भने ,‘साहले देखाएको उदण्डताबारे मन्त्रालयले कार्यवाही अगाडि बढाएको छ । उनलाई स्पष्टिकरण सोध्ने कार्य भइरहेको छ ।
जनकपुुरको कार्यालयमा कार्यरत रहेका बेला साहले योजना बाँड्नुपूर्व उपभोक्ता समितिहरुबाट कमीशनामा लिएको १० प्रतिशत रकम डुब्ने चिन्ताले फेरि त्यही सरुवा गराएर जाने प्रपञ्च रचिरहेको कर्मचारी श्रोतले बताएको छ ।


