Madhes Khabar
कृषि हेडलाइन

महावीर पुनको आँटले पुर्नजीवित वीरगन्ज कृषि औजार कारखानाले १६ थरिका औजार उत्पादन गर्दै

वीरगन्ज,१४बैशाखःवीरगन्ज कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको राष्ट्रिय आविष्कार केन्द्रले ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ ।

कृषि औजार कारखाना वीरगन्जका प्रमुख तथा इन्जिनियर रितेश देवले कारखानामा अहिलेसम्म १६ थरिका कृषि औजार अनुसन्धान र विकास गरेको जानकारी दिए ।

‘केन्द्रले अहिले नेपालका लागि आवश्यक पर्ने कृषि औजार अनुसन्धान तथा विकास गर्दै आइरहेको छ’, उनले भने, ‘अहिलेसम्म साना–ठूला गरेर १६ थरिका औजार अनुसन्धान र विकास गरेका छौँ ।’

ऋाविष्कार केन्द्रले पराल काट्ने, धान काट्ने (रिपर), दाना बनाउने, धान रोप्ने सानो मेसिन (रिपर), घाँस खुर्किने, ड्याङ बनाउने, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, साना ट्रयाक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने, केराको फाइबर निकाल्ने, गोबर पेल्ने, कोदो रोप्ने मेसिन, चाँप कटर, हाते औजारमा बञ्चरो, खुँडा, साना कुटो कोदाली, चाँपलगायत घरायसी प्रयोजनमा प्रयोग हुने कृषि औजार तयार पारिसकेको इन्जिनियर इन्जिनियर देवले जानकारी दिए।

‘केन्द्रमार्फत कारखानामा अहिले अनुसन्धान र विकासकै चरणमा भएकाले पनि ठूलो मात्रामा व्यावसायिक रूपमा उत्पादन हुन सकिरहेको छैन । यद्यपि सामान्य खालका औजार भने बिक्री वितरण भइरहेको छ’, उनले भने, ‘कोही शुभचिन्तकहरू यहाँ आएर नै कहिलेकाहीँ यहीँ उत्पादन भएका कृषि औजार खरिद गरेर लैजाने गर्नुभएको छ ।’

कारखानाका प्रमुख देवले आविष्कार केन्द्रले केही समयअघि ५० लाख खर्चेर सिएनसी मेसिन ल्याएसँगै औजार उत्पादनमा सहजीकरण र सरलता ल्याएको जानकारी दिए ।उनले भने,‘सिएनसी मेसिनले नयाँ औजार उत्पादनभन्दा पनि काम गर्नका लागि निकै सहजता गराइरहेको छ । यहाँका कार्यरत इञ्जिनियर तथा अन्य प्राविधिक कर्मचारीलाई काम गर्न सजिलो र सहजता प्रदान गर्दै आइरहेको छ ।’

देवका अनुसार, अहिले कृषि औजार कारखानामा ३६ जना कार्यरत छन् । ‘कृषि औजार कारखाना पनि राज्यकै हो, राज्यले नै यसको अनुसन्धान र विकासका लागि ध्यान दिन जरुरी छ’, उनले भने, ‘देशका किसानका लागि अत्यावश्यक पर्ने सबै खालका औजार यही कारखानाबाट बनाउन पाएको खण्डमा जनता धेरै लाभान्वित हुने थिए ।’

इन्जिनियर देवले तीनवटै तहका सरकार नयाँ बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकाले पनि कृषि औजार कारखानाका लागि आवश्यक पर्ने फलामको कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था गरिदिनका लागि माग गरे ।

देवले कृषिका लागि आवश्यक पर्ने कच्चा फलामको आयातमा धेरै भन्सार करको दर भएकाले पनि कृषि औजार कारखाना लागि आवश्यक पर्ने कच्चा पदार्थमा सहुलियत वा छुटको व्यवस्था गरिदिनका लागि आग्रह गरे।

तत्कालीन सोभियत संघको आर्थिक र प्राविधिक सहयोगमा वीरगन्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याइएको थियो । कारखाना २०२४ साल फागुन २८ गतेदेखि सञ्चालनमा आएको थियो । कारखानाले सुरुआती चरणमा कृषि औजारको उत्पादन गरेर स्वदेशमा मात्र होइन, विदेशमा निर्यात गर्दै आइरहेको थियो । तर कारखाना व्यवस्थापनमा भएका कमीकमजोरीले अन्ततः २०५९ सालसम्म आइपुग्दा कारखाना बन्द हुने अवस्थामा आइपुग्यो ।

कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानालाई आवश्यक पर्ने सहयोगका लागि आफूले सहजीकरण गर्दै आएको जानकारी दिए । उनले भने,’मैले कृषिमन्त्रीको पदभार सम्हालेपछि कारखानाको स्थलगत अवलोकन एवं जानकारी लिएँ । कारखानालाई सदृढ बनाउँदै व्यवसायीक उत्पादन गर्न आवश्यक सहयोग गर्न म तयार छु ।’

आविष्कार केन्द्रले दुई दशकभन्दा लामो समयदेखि बन्द भएर अलपत्र भएको औजार कारखानालाई पछिल्लो समय पुनर्जीवित बनाउने कोसिस जारी राखेको छ ।

२०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले दुई दशकदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनका लागि राष्ट्रिय अविष्कार केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेसँगै कृषि औजार कारखानाले पुनर्जीवन प्राप्त गरेको हो ।

२०७९ असोज ११ गते अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका थिए । तर केन्द्रले औपचारिक रूपमा काम सुरु भने २०७९ साल माघमा मात्र थालेको हो ।

Related posts

सडकमा जथाभावी फोहोर फाल्नेहरूबाट वीरगन्ज महानगरले उठायो साढे २१ लाख जरिवाना

MadhesKhabar

पर्साकी उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध हुने पक्का

MadhesKhabar

काँग्रेसका सिटाैलालाई हराउदै राप्रपा अध्यक्ष लिङदेन विजयी

MadhesKhabar

Leave a Comment