काठमाडौं,१०बैशाखःभारतको जम्मु–कश्मीर प्रान्तको पहलगाम आफ्नो प्राकृतिक सौन्दर्य र शान्तिको लागि परिचित छ, तर २२ अप्रिल २०२५ मा अर्थात मंगलबार पहलगाम आतंकको आगोमा डुब्यो । एउटा भयानक आतंकवादी हमलामा एक नेपालीसहित २८ जना पर्यटकको मृत्यु भयो, जसमा एक नवविवाहित जोडी पनि थिए ।
कर्नालका विनय नरवालको जोडी आफ्नो नयाँ जीवन सुरु गर्न, आफ्नो हनिमूनको सुन्दर क्षणहरूको कदर गर्न पहलगाम गएका थिए, तर आतंककारीहरूको गोलीले उनीहरूको सपनालाई सदाको लागि चुप लगाइदियो ।
कर्नालका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवाल भारतीय नौसेनाका अधिकारी थिए । उनको विवाह गत अप्रिल १६ मा भएको थियो र उनी आफ्नी नवविवाहित दुलहीसँग पहलगामको बैसरन उपत्यकामा हनिमुन मनाइरहेका थिए । अप्रिल २२ मा अर्थात मंगलबार आतंककारीहरूले पर्यटकहरूको समूहमाथि गोली चलाएका थिए । विनयले आफ्नी श्रीमतीलाई बचाए तर उनी आफैं आतंककारीहरूको गोलीको सिकार भए ।
श्रीमान्को शवको छेउमा असहाय भएर बसिरहेकी उनकी श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसले गर्दा देख्ने सबैको आँखा रसाएकाका छन् । कर्नालस्थित उनको घरमा शोक छाएको छ । परिवारका एक सदस्यले भने, ‘विनय हाम्रो गौरव थियो । उसले आफ्नी श्रीमतीलाई बचायो, तर हामीले उसलाई बचाउन सकेनौं ।’
लश्कर–ए–तैयबासँग सम्बन्धित संगठन द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले पहलगामको बैसरन उपत्यकामा भएको यस आक्रमणको जिम्मेवारी लिएको छ ।
आतंककारीहरूले पर्यटकहरूलाई उनीहरूको नाम र धर्म सोधे, र त्यसपछि निर्दयी रूपमा गोलीबारी गरे। यस आक्रमणमा २८ जनाको मृत्यु भएको थियो, जसमा युएई र नेपालका पर्यटकहरू पनि थिए ।यो कायरतापूर्ण आक्रमणको सर्वत्र निन्दा भइरहेको छ ।साभारः मकालुखबर

