
जनकपुरधाम,९बैशाखः धनुषा जिल्लामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा छिन् ।
धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको विष सेवन गरेका कारण मृत्यु भएको ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले बताए ।
यादवका अनुसार सुशीलकी पत्नि ३० वर्षीया बविता साह गम्भीर अवस्थामा छिन् । उनको उपचार जनकपुरकै प्रादेशिक अस्पतालको भेन्टिलेटरमा भइरहेको छ ।
प्रहरीका अनुसार सोमबार बेलुकी पौने ७ बजेतिर आमासहित सन्तानहरु विष सेवन गरेको अवस्थामा फेला परेका थिए। स्थानीयबासीले उनिहरुलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएका थिए ।तर अस्पताल लैजाँदै गर्दा तीन जना बालबालिकाको भने मृत्यु भइसकेको थियो ।
घरायसी विवादमा सुशीलकी पत्नि बविताले आफ्ना तीनै छोराछोरीलाई विष सेवन गराएर आँफूले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक यादवले बताए । उक्त घटना बारे प्रहरीलाई सोमबार राति पौनै ९ बजे मात्र खबर आएको र उक्त घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

