वीरगन्ज,५बैशाखःवीरगन्जका चिकित्सक डा. राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी (इएसजीइ) बाट एफइएसजीइ उपाधी (डिग्री) प्राप्त गर्न सफल भएका छन्। डा. झा एफइएसजीइको डिग्री प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक समेत बनेका छन्।
इएसजीइबाट पहिलोपटक एसियाली राष्ट्रका डाक्टर झासहित २ जना चिकित्सकले यो डिग्री पाएका हुन्। नेपालका डा. झासँगै भारतका नागेश्वर रेड्डीले पनि एफइएसजीइ डिग्रीको उपाधी पाएका हुन्।
डा. झा वीरगन्जस्थित ग्यास्ट्रो लिभर क्लिनिक इन्डोस्कोपी सेन्टरका सञ्चालक हुन्। ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यवसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्वपूर्ण व्यवसायिक उपलब्धी र उत्कृष्ट दक्षताप्राप्त गरेका व्यक्तिलाई एफइएसजीइ उपाधीको डिग्री प्रदान गर्ने गरिन्छ।
डा. झाले आफ्नो चिकित्सकीय पेशागत यात्रामा प्राप्त एफइएसजीइ डिग्रीलाई एउटा महत्वपूर्ण उपलब्धि भएको बताए । यो उपाधी विश्व–चिकित्सा क्षेत्रमा नेपाललाई जोड्न र चिनाउन सहयोगी सिद्ध हुने विश्वास पनि उनले व्यक्त गरे ।डा. झाले भने,‘एफइएसजीइ उपाधी मेरा लागि मात्र नभई देशकै लागि गर्वको कुरा हो। यसले विश्व–चिकित्सा क्षेत्रमा नेपालको परिचय स्थापित गर्न मद्दत पु¥याउछ।’
एफइएसजीइको डिग्री प्राप्त गर्न इएसजीइमा कम्तीमा १० वर्ष आबद्ध हुनुका साथै मोड्युल–१ र मोड्युल–२ सफलतापूर्वक पूरा गरेको हुनुपर्छ।
डा. झाले जेनरल इन्फर्मरी लिड्स् युनिभर्सिटी युकेबाट सन् २०१३ मा मोड्युल–१ र एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी हैदरावाद भारतबाट सन् २०१७ मा मोड्युल–२ पूरा गरेका हुन्।

