Madhes Khabar
स्थानिय हेडलाइन

बहुदरमाई नगरपालिकामा ७ महिनादेखि चल्दै आएको विवाद दुवै मन्त्रीको पहलमा सल्टाइयो

फाइल तस्बिर ।

वीरगन्ज,१७माघःपर्साको बहुदरमाई नगरपालिकामा विगत ७ महिनादेखि चल्दै आएको मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद सुल्झिएको छ ।

मेयर सिंगासन सा तेलीले प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफालाई बजेट खर्चको अख्तियारी नदिएका कारण नगरपालिकाका कर्मचारी,शिक्षक,स्वास्थ्यकर्मी लगायतले विगत ७ महिनादेखि तलबभत्ता पाएका छैनन् ।नगरपालिकामा प्रशासनिक देखि विकास निर्माणका कामसमेत ७ महिना देखि नै ठप्प छन् ।

७ महिनादेखि तलबभत्ता नपाएका कारण नगरपालिकामा रहेका २० वटै सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालयमा ताल्चा लगाएर चाबी प्रमुख जिल्ला अधिकारीलाई बुझाइदिएका कारण दुई हप्तादेखि विधार्थीहरु पठनपाठनबाट बञ्चित छन् ।त्यहि विषयलाई लिएर विधार्थीहरुले एक महिनापहिले नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गर्दाै १ करोडभन्दा बढीको भौतिक क्षतिपनि भएको थियो ।

बुधबार काठमाडौंमा संघीय मामीला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र खानेपानीमन्त्री प्रदीप यादव दुवैको पहलमा मेयर तेली र प्रमुख प्रशासकीय अधिकृत मुस्तफालाई राखेर गरेको छलफलमा दुवैबीचको विवाद सुल्झाइएको खबर प्राप्त भएको छ । छलफलमा गत कार्तिक ८ गते भएको नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट मेयर तेलीले प्रमाणिकरण गरेका छन् ।साथै संघीय मामीला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले शुक्रबार अहिलेका प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको बहुदरमाई नगरपालिकाबाट सरुवा गर्ने र त्यहाँ अर्कै प्रमुख प्रशासकीय अधिकृत पठाउने सहमतिपनि भएको छलफलमा सहभागी जसपाका एक नेताले जानकारी दिए ।

उनले भने,‘सामान्य प्रशासनमन्त्री गुप्ता जीले भोलि(शुक्रबार)नै अहिलेका हाकिमको सरुवा गर्ने र अर्को हाकिम पठाउने सहमति भयो । नयाँ हाकीम आएपछि मेयर साबले उहाँलाई बजेट खर्चको अख्तियारी दिने सहमतिपनि भयो ।’

खानेपानी मन्त्री यादवले मेयर र प्रमुख प्रशासकीय अधिकृत दुवैको आपसी समझदारी गराएर विवाद सल्टाइएको बताए । उनले भने,‘ मैले र सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजी दुवैले पहल गरेर मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई संगै राखेर छलफल गरायौं । उहाँहरु दुवैजनाबीच आपसी सझदारी गराएर त्यहाँको विवाद सल्टाउने काम भयो ।’

मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच आपसी विवाद र हठका कारण विगत ७ महिना देखि अनिर्णयको बन्दी बनेको बहुदरमाई नगरपालिकाको विवाद सुल्झिएको मा नगरपालिकाका स्थानीय खुशी भएका छन् । बहुदरमाई नगरपालिका–२ का नेपाली कांग्रेसका युवा नेता राकेश यादवले भने,‘ बुधबार मेयर र हाकिमबीच भएको समझदारी स्वागतयोग्य छ । बाहिर मेयर र हाकिमबीचको विवाद जस्तो देखाइएपनि यसमा पर्दापछाडिका खेलाडी जिल्लाकै मन्त्रीहरु थिए । ढिलै भएपनि उहाँहरुले पहल गरेर निकास दिनुभएकोमा धन्यवाद दिन चाहन्छौ ।

उनले योपनि थपे,‘नगरपालिकालाई ७ महिनासम्म ज जसले अनिर्णयको बन्दी बनाएर राखे उनिहरुको बारेमा जनताले आगामी दिनमा उचित जवाफ दिनेनै छन् । तर अहिले तत्कालका लागि निकास पाएकोमा हामी सबै नगरबासी खुशी छौं ।’

Related posts

अस्पताल र सप्लार्यबीचको विवादले नारायणी अस्पतालमा ३ महिनादेखि एमआरआई सेवा ठप्प

MadhesKhabar

वीरगन्जकाे नगवामा साढे ४ लाख लिटर क्षमताको पानी ट्याङ्कीकाे निर्माण सुरु

MadhesKhabar

जगदम्बा उद्योगमा वीरगन्जका एक मजदुरकाे मृत्युु

MadhesKhabar

Leave a Comment