
वीरगन्ज,४बैशाखः पर्सा जिल्लामा अहिलेपनि विद्यालय जाने उमेर पुगेका ८ हजार बढी दलित बालबालिकाहरु विद्यालयको पहुचबाट बाहिर रहेका छन् ।दलित समुदाय र तीनका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको पिस फर दलित फाउन्डेशनले पर्सामा अहिलेपनि ८ हजार बढी दलित बालबालिकाहरु विद्यालयबाहिर रहेको जनाएको हो ।
पर्साका दलितहरू आर्थिकरूपमा कमजोर रहेका, उनीहरूको दैनिकी ज्याला–मजदूरीबाट हुने गरेकाले उनिहरुका बालबालिका १० वर्ष उमेर नाघ्ने बित्तिकै घर धान्नका लागि काममा पठाउने गरिएकाले विद्यालय जानबाट वञ्चित हुने गरेको फाउन्डेशनका अध्यक्ष मनोज रामले बताए ।
समाजमा दलित भएकै कारण हुने भेदभावका घटना अझैपनि पूर्णरूपमा हटिनसकेको कारण र गरिबीलेपनि कतिपय दलित बालबालिकाहरू विद्यालयमा अन्य जातिका बालबालिका तथा शिक्षक, शिक्षिकाबाट हुने भेदभावपूर्ण व्यवहारका कारणले पनि विद्यालय नजाने र गएपनि बीचमै छाड्ने गरेको रामले बताए ।पर्सा जिल्लामा अनुमानित १० हजार दलित बालबालिका विद्यालयमा अध्ययनरत रहेकोपनि उनले बताए ।
रामका अनुसार, पिस फर दलित फाउन्डेशनले यस वर्ष पर्सा जिल्लामा विद्यालयबाहिर रहेका एक हजार दलित बालबालिकालाई विद्यालय भर्ना गराउने अभियान थाल्ने भएको छ । गत वर्ष विद्यालयबाहिर रहेका दुई सय दलित बालबालिकालाई विद्यालय भर्ना गराएको र यस वर्ष एक हजारको लक्ष्य राखिएको अध्यक्ष रामले बताए ।उनले भने,‘ दलितका बालबालिकालाई एक त विद्यालयमा भर्ना गराउन त्यति सजिलोपनि छैन, भर्ना गराएपनि विद्यालयमा टिकाइराख्नपनि गाह्रो छ।’
उनले दलित बालबालिकाहरूको लागि सरकारले दिने गरेको वार्षिक चार सय रुपैयाँ छात्रवृत्ति पनि अपुग भएको बताए । अध्यक्ष रामले आर्थिकरूपमा कमजोर परिवारका दलित बालबालिकाका लागि दिने उक्त रकमबाट कापी, कलम, पोशाक, ब्याग आदिको खर्च धान्न नसक्ने रहेकाो बताए ।
जिल्लाका पालिकाहरूले पनि दलित बालबालिकाहरूलाई शिक्षित पार्ने अभियानमा सघाउ नपु¥याएको उनको आरोप छ ।
पर्सामा दलितको जनसंख्या झण्डै करीब डेढ लाखको हाराहारीमा रहेको रामले बताए ।दलित बालबालिकाहरूलाई शिक्षित पार्ने अभियानमा पालिकाहरूबाट प्रयास भइदिए विद्यालय शिक्षामा उनिहरुको पहुँच बढ्न सक्ने रामले बताए ।
दलित बालबालिकाका लागि सञ्चालित निःशुल्क ट्युशन कक्षा प्रभावकारी
अध्यक्ष रामका अनुसार, पिस फर दलित्स फाउन्डेशनले विगत चार÷पाँच वर्षदेखि दलित बालबालिकाहरूको शिक्षामा पहुँच बढाउनका लागि पर्सा जिल्लाका चार स्थानमा निःशुल्क ट्युशन कक्षा सञ्चालन गर्दै आएको छ ।
बालविकासदेखि प्रावि तह कक्षा पाँचसम्मका दलित बालबालिकाहरूका लागि फाउन्डेशनले वीरगन्ज महानगरपालिका–१९ केहुनिया विन्ध्यवासिनी, सखुवाप्रसौनी गाउँपालिका–३ र ५ को कौवावनकटैया र महुवनमा निश्शुल्क ट्युशन कक्षा सञ्चालन गरिएको उनले बताए ।
जाडोको मौसममा दुई समयमा बिहान–बेलुका दुई÷दुई घण्टा र गर्मीयाममा दिउँसो तीन घण्टा निःशुल्क ट्युशन दिंदै आएको अध्यक्ष रामले बताए ।उनका अनुसार,मुसहर, चमार, दुसाध, मुस्लिम समुदायका बालबालिकाहरूलाई निःशुल्क ट्युशन पढाइने गरिन्छ । फाउन्डेशनले अमेरिका, अस्टे«लियामा रहेका नेपालीहरूको सहयोगमा ट्युशन सञ्चालन हुँदै आएको र यसमा स्थानीय पालिकाले अहिलेसम्म कुनै सहयोग नगरेको बताएको छ ।
निःशुल्क ट्युशनको व्यवस्था गरेदेखि विद्यालयमा टिकाउ हुने दलित बालबालिकाको संख्याा ७० प्रतिशतले बढेको र उत्तीर्ण हुने संख्यापनि ६० प्रतिशतले वृद्धि भएकोे अध्यक्ष रामले बताए ।

