वीरगन्ज ,२५जेष्ठ : वीरगन्ज महानगरपालिकाले महानगरका विभिन्न वडामा गिर चार हजार घरधुरीमा पानीकाे धारा निशुल्क जडान गर्ने भएको छ ।
वर्षा नहुँदा र बढ्दो गर्मीका कारण जमिनमुनि सतहमा पानी सुक्दा चाँपकलहरुमा पानी आउन छोडेपछि महानगरले पानीको आभावलाई मध्यनजर गर्दै नेपाल खानेपानी संस्थानकाे धारा नि:शुल्क जडान गर्न लागेको हो ।
अहिले गर्मीमा वीरगन्ज महानगरसहित तराई-मधेसका विभिन्न जिल्लामा चाँपाकलमा पानी आउन छाडेको गुनासो आउन थालेको छ । विद्युतीय मोटरले समेत पानी नतान्दा शहरी जीवन निकै प्रभावित बनेको छ । सोही समस्यालाई समाधान गर्न वीरगन्ज महानगरले नि:शुल्क पानीकाे धारा जडान गर्न लागेकाे हाे।
महानगरपालिकाका मेयर राजेशमान सिंहले बिहीबार बिहानै सामाजिक सञ्जाल मार्फत निःशुल्क धारा जडानका लागि वडा अध्यक्षहरुसँग सम्पर्क गर्न महानगरवासीलाई अनुरोध गरेका छन् ।
मेयर सिंहले वीरगन्ज महानगरपालिकाले वडा नम्बर १ देखि १७ सम्म र वडा नम्बर १९ मा नेपाल खानेपानी संस्थानसँग समन्वय गरेर ४ हजार घरधुरीमा निःशुल्क सरकारी धारा जडान गर्ने भएकोले वडावासीले सम्बन्धित वडाका वडाअध्यक्षसँग सम्पर्क गरी आफ्नो घरमा निःशुल्क धारा जडान गर्न अनुरोध गरेका छन् ।
चापाकलहरुमा पानी आउन छाडेपछि अहिले सरकारी धारा जडान गर्न आउने ग्राहकहरुको संख्या पनि बढेको खानेपानी संस्थान वीरगन्ज शाखाका प्रमुख इञ्जिनियर निरन महर्जनले बताए । पहिले सरकारी धारा जडान गर्न नमान्ने र पानी प्रयोग नगर्ने ग्राहकहरु अहिले दिनहुँ १० देखि १२ जनासम्म धारा जडानका लागि निवेदन दिन आउने गरेको प्रमुख महर्जनले बताए ।