Madhes Khabar
खेलकुद

हिमालयन शेर्पाले जित्याे जीतपुरसिमरा गोल्डकपको उपाधि

सिमरा,३० चैत:मच्छिन्द्र फुटबल क्लब विरुद्ध फराकीलो जित निकाल्दै हिमालयन शेर्पा क्लबले जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ। हिमालयन शेर्पाले १० लाख नगद र ट्रफि प्राप्त गरेको भने उपविजेता मच्छिन्द्रले ५ लाखमा चित बुझायो । गत संस्करणमा समेत फाइनलमा पराजित मच्छिन्द्र लगातार दोश्रोपटक उपविजेतामा सिमीत बनेको हो ।

शुक्रबार राती सिमरा रङ्गशालामा सम्पन्न १५ औं संस्करणको उपाधि भिडन्तमा हिमालयन शेर्पा क्लबले मच्छिन्द्र फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै दोश्रोपटक जीतपुरसिमरा गोल्डकपको च्याम्पियन बनेको हो । शेर्पाले यसअघि दोश्रो संस्करणको उपाधि जितेको थियो।

हिमालयन शेर्पालाई बर्षको पहिलो उपाधि दिलाउने क्रममा कप्तान विश्वास श्रेष्ठले दुई तथा रोवर्ट खोङजो र समिरराज थोकरले समान १ गोल गरेका थिए । मच्छिन्द्रका लागि रञ्जन पुनले एकमात्र सान्त्वना गोल गरे ।

मच्छिन्द्र विरुद्ध खेलको तेश्रो मिनटमै हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले अग्रता दिलाएका थिए । खेलको तेश्रो मिनटमै हिमालयन शेर्पाले अग्रता लिएको थियो । खेलको २७ औं मिनटमा मच्छिन्द्रका लागि रञ्जन पुनले बराबरी गोल गरेका थिए ।

तर मच्छिन्द्रले बराबरी गरेको केहीबेरमै फेरि हिमालयन शेर्पाले अग्रता बनाएको थियो । समिरराज थोकरले खेलको २९ औं मिनटमा रोबर्टको क्रसपासलाई गोलमा परिणत गर्दै हिमालयन शेर्पालाई २–१ को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा रोवर्ट खोङजोले शानदार गोल गर्दै हिमालयन शेर्पाको अग्रता फराकिलो पारे । सेन्टरलाईनबाट एक्लै बल अघि बढाएका रोबर्टले मच्छिन्द्रको रक्षापंक्ती बिट गर्दै वन भर्सेस वनको स्थितीमा निकै आकर्षक गोल गरेका थिए।

पहिलो हाफमा ३–१ ले पछि परेको मच्छिन्द्र दोश्रो हाफमा सम्हालिन नपाउँदै १० खेलाडीमा सिमित बन्यो । मच्छिन्द्रका गोलरक्षक विशाल सुनार रातो कार्ड खाँदै मैदानबाट बाहिरीए । हिमालयन शेर्पाका रोवर्ट खोङजोले किपर विट गरेको अवस्थामा विशालले हातले रोवर्टको खुट्टा तानेर लडाईदिएपछि फिफा रेफ्री नविन्द्र महर्जनले सिधै रातो कार्ड दिंदै विशाललाई मैदान बाहिर पठाए ।

गोलरक्षकले रातो कार्ड पाएपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले बैकल्पिक गोलरक्षक सुरेश सदालाई गोलपोष्टमा पठाउन अनिल खड्कालाई मैदानबाट फिर्ता बोलाएका थिए । हिमालयन शेर्पाले पाएको पेनाल्टी अवसरलाई कप्तान विश्वास श्रेष्ठले गोलमा परिणत गर्दै ४–१ को फराकिलो अन्तर बनाए।

फाइनल खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच हिमालयन शेर्पाका अमित तामाङ घोषित भए । उनले १० हजार नगद र ट्रफि प्राप्त गरे ।

मच्छिन्द्र फुटबल क्लबका रोबर्ट खोङजो भिएक्सएल एजुकेशन प्लयेर अफ दि टुर्नामेन्ट घोषित भए । उनले इलेक्ट्रिक स्कुटर प्राप्त गरे । उच्च गोलकर्ताको पुरस्कार पनि रोबर्टलेनै पाए । रोवर्टले प्रतियोगितामा सर्वाधिक ३ गोल गरेका थिए । क्वाटर फाइनल र सेमीफाइनलमा १–१ गोल गर्दै दुबै खेलको म्यान अफ दि म्याच जितेका रोबर्टले फाइनल खेलमा थप एक गोल गर्दै २५ हजार राशीको सो पुरस्कार जिते।

उत्कृष्ट गोलरक्षक हिमालयन शेर्पाका विवश चौधरी र उत्कृष्ट प्रशिक्षक हिमालयन शेर्पाका प्रज्वल प्रताप क्षेत्री घोषित भए । उनीहरु दुबैले समान २५ हजार र ट्रफि प्राप्त गरे।

उदयमान स्थानीय खेलाडीलाई प्रदान गरिने इमर्जिङ प्लेयरको अवार्ड आयोजक सिमराका सेरव लो तामाङ घोषित भए । १५ हजार राशीको सो पुरस्कार हाल अष्ट्रेलीयामा रहेका फुटबल खेलाडी रवी पासवानले प्रायोजन गरेका थिए । फेयर प्लेको ट्रफि सलहेश युवा क्लबलाई प्रदान गरियो।

पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम तय गरिएपनि अन्तिम समयमा आएर प्रचण्डले कार्यक्रम रद्द गरेका थिए । विजेता तथा उपविजेता खेलाडीहरुलाई पुर्व मन्त्री तथा बारा ४ का सांसद कृष्णकुमार श्रेष्ठ, मधेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

Related posts

भारतलाई हराउँदै बंगलादेश फाइनलमा

MadhesKhabar

एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय टिभी च्यानल `स्टार स्पोर्ट्स´बाट हुने

MadhesKhabar

भुटानलाई हराउँदै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा

MadhesKhabar

Leave a Comment