Madhes Khabar
धर्म/संस्कृति

चैती छठकाे मुख्य दिन आज `सँझिया घाटे´ सूर्य भगवानलाई अर्घ दिइदैं

फाइल तस्बिर ।

वीरगन्ज,२१चैत : श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्बको मुख्य दिन आज(बिहीबार) साँझ ब्रतालुहरुले अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिदैछन् ।

चैत शुक्लपक्षमा चार दिन सम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन आज अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ ।छठको मुख्य दिन आज साँझ ब्रतालुहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सुर्य र छठी मातालाइ अर्घ दिनेछन् ।

वीरगन्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदि , नगवा , छपकैया लगायतका स्थानमा रहेका छठघाट (जलाशय) हरुमा आज साँझ सुर्य भगवान र छठीमातालाइ अर्घ दिन ब्रतालुहरु पुग्छन् ।

सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ ।

छठ पर्बको अन्तिम दिन सप्तमी तिथीका दिन भाेलि (शुक्रबार) बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउदो सुर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ । यसअघि बुधबारदेखि निर्जला ब्रत लिएका ब्रतालुहरुले बुधबार नै साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर (रसीआव) तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात रसीआव-रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका थिए ।

चैती छठ पर्ब गत मंगलबारदेखि विधीवत रुपमा सुरु भएको हो । चैत शुक्लपक्षमा चार दिन सम्म मनाइने चैती छठ पर्बको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ ।चैती छठको पहिलो दिन मंगलबार व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भई लुसन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका थिए ।

सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको महान् चाड छठ पर्ब कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ ।छठ पर्बमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ ।

वर्षमा दुइ पटक (कात्तिक र चैत ) गरि मनाइने छठ पूजा अन्तर्गत चैतमा मनाइने चैती छठ , पछिल्लो समयमा मनाउनेहरुको संख्या बढ्दै गएको छ ।

Related posts

मुस्लिम धर्मावलम्बीहरुले आज ईद पर्ब हर्षाेल्लासका साथ मनाउँदै

MadhesKhabar

छठमा पनि घटेन सिर्सिया नदीको प्रदूषण: स्थानीयबासी आक्राेशित

MadhesKhabar

चैती छठ पर्ब आजदेखि सुरु

MadhesKhabar

Leave a Comment