काठमाडौं,१८चैतः काठमाडौंमा हिंसात्मक प्रदर्शन मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारत पुगेको प्रहरी श्रोतले जनाएको छ । एक उच्च प्रहरी अधिकारीले प्रसाईं चितवनको माडी हुदैं पर्साको ठोरी नाका भएर भारत पुगेको बताए ।
काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते प्रसाईंले ‘कमान्ड’ गरेको प्रदर्शन अराजक बनेपछि उनले काठमाडौं छाडेको ती प्रहरी अधिकारीले जानकारी दिए ।तर शनिबारमात्रै प्रसाईंले फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै आँफु काठमाडौंको एक मन्दिरमा सुरक्षित रुपमा बसेको बताएका थिए ।
चैत १५ को राजावादीको प्रदर्शनक्रममा एक पत्रकारसहित दुईजनाको मृत्यु भएको थियो । पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनले ज्यान गुमाएका हुन् ।
प्रदर्शनक्रममा दर्जनौँ सवारीसाधन, सार्वजनिक सम्पत्ति, निजी घरमा तोडफोड, आगजनी र भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरिएको थियो । प्रदर्शन उत्तेजित बनाएको र आन्दोलनका ‘कमान्डर’ समेत रहेकाले प्रसाईंलाई पक्राउ गर्ने सरकारी तयारीबीच उनी काठमाडौं छाडेर भारत हानिएको प्रहरीको भनाइ छ ।
गत शुक्रबार (चैत १५ गते) राति नै उनी काठमाडौं छाडेर भारततर्फ लागेको प्रहरी जनाएको छ ।प्रदर्शन हिंसात्मक बनेलगत्तै उनी ललितपुरको इमाडोलस्थित आफ्ना गुरु पुस्कर खतिवडाको घर पुगेका थिए । त्यहाँ फलफूल खाएर शुक्रबार राति उनी ललितपुरको फर्सीडोल हुँदै चितवनको माडी हुदैं ठोरी नाका भएर भारत गएको प्रहरी दाबी छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘‘प्रसाईं ललितपुरको कान्ति लोकपथको विभिन्न बाटोहरू प्रयोग गरेर चितवनको माडी हुदैं पर्साको ठोरी पुगेर भारत पसेको देखिन्छ ।’’ उनी भारत पुगेको केही महत्त्वपूर्ण प्रमाण समेत फेला पारेको ती प्रहरीले अधिकारीले जनाएका छन् ।
प्रसाईं भारत पुगेको सूचनालगत्तै प्रहरीका केही अधिकारीले त्यहाँको सहयोगमा उनलाई पक्राउको आन्तरिक तयारी सुरु गरेका छन् । त्यसनिम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्ईबी)को टोलीले भारतीय प्रहरीसँग समन्वय थालेको ती प्रहरी अधिकारीले बताए ।
तर पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले प्रहरीले खोजी गरिरहेका प्रसाईं पर्साको ठोरी नाका भएर भारत पसेको बारे आँफुहरुलाई जानकारी नभएको बताए । मधेसखबरसंगको कुराकानीमा उनले भने,‘त्यो खबरमा सत्यता छैन । पर्साका हरेक नाकामा प्रहरीले निगरानी गरिरहेको छ । ठोरी वा कुनै नाका भएर प्रसाईं भारत छिर्नसक्ने सम्भावना नै छैन । साभारः बाह्रखरी डटकम

