
वीरगन्ज,७चैतःवीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा जारी स्ववियु निर्वाचनको मतगणना बिहीबार दिउँसो २ बजेदेखि अवरुद्ध भएको छ । क्याम्पस भवनमै बुधबार साँझ ५ बजेदेखि सुरु भई जारी रहेको मतगणनाका क्रममा बिहीबार दिउँसो २ बजेतिर मतपेटिकामा लगाइएको शिलबन्दी नम्बर मेल नखाएपछि मतगणना अवरुद्ध भएको हो ।
मंगलबार मतदान सकिएलगत्तै निर्वाचन समितिले मतपेटिका शिल गरेर मुचुल्का उठाउने क्रममा उम्मेदवारका प्रतिनिधीहरुलाई शिलबन्दी नम्बर दिएको थियो ।बिहीबार दिउँसो केहि मतपेटिका खोल्ने क्रममा उम्मेदवारका प्रतिनिधीसंग रहेको शिलबन्दी नम्बर र मतपेटिकामा रहेको शिलबन्दी नम्बर मेल नखाएपछि विवाद भई मतगणना अवरुद्ध भएको हो । मतपेटिकाको शिलबन्दी नम्बर फरक परेपछि मतगणनामा खटिएका उम्मेदवारका प्रतिनिधीहरुले क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । विवाद भइरहेको मतगणना स्थलमा अहिले पत्रकारहरुलाई प्रवेशमा निषेध गरिएको छ ।
मतगणना अवरुद्ध हुनु अघि निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार, सभापति पदमा नेविसंघबाट विद्रोह गरेर नेपाल विद्यार्थी समुह नामबाट उम्मेदवार बनेका राज कुमार यादव अग्रस्थानमा छन् । यादव ४ सय २० मतका साथ अगाडि छन् । यादव कांगेस नेता शेखर कोइराला पक्षधरका उम्मेदवार हुन् । यादवलाई नेविसंघका उम्मेदवार विकास मण्डल धानुकले २६१ मतका साथ पछ्याइरहेका छन् । यस्तै तेस्रो स्थानमा रहेका समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादवले २२१ मत, सुधिर पटेल समुहका उम्मेदवार कमलेश यादवले २०४ मत र पाँचौ स्थानमा रहेका अनेरास्ववियुका पवन यादवले १५० मत पाएका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसमा १६ बर्षपछि यसपालि भएको स्ववियु निर्वाचनमा सभापति पदमा १४ जना उम्मेदवार छन् । गत मंगलबार भएको निर्वाचनमा ४० प्रतिशत मात्रै अर्थात कुल १० हजार ७२९ मतमध्ये ४ हजार २९९ मत मात्रै खसेको थियो ।