Madhes Khabar
समाचार

वीरगन्जका सञ्चारकर्मी सर्राफसंग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरीका असई सिंहमाथि कारबाही सुरु

सशस्त्र प्रहरी सहायक निरीक्षक सुजय कुमार सिंह

वीरगन्ज,२८फागुनःवीरगन्जबाट सञ्चालित यात्राडेली डटकममा कार्यरत सञ्चारकर्मी आशु कुमार सर्राफसंग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय कुमार सिंहमाथि कारबाहीको प्रक्रिया सुरु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले असई सिंहलाई तत्काल हेडक्वार्टर तानेर कारबाही अघि बढाएको हो । घटनाले प्रेस स्वतन्त्रता र सशस्त्र प्रहरीको आचरणमाथि गम्भीर प्रश्न उठाएको छ ।

सिंहले सर्राफसँग अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल नेतृत्वको टोलीले सशस्त्र प्रहरी उपरक्षिक राधेश्याम धितालसँग सम्पर्क गरी दोषीमाथि कडा कारबाहीको माग राखेको थियो ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धितालले घटनालाई गम्भीरतापूर्वक लिएको बताए । उनले असई सिंहलाई तत्काल हेडक्वार्टर तानिएको र उनको स्पष्टीकरण मागिएको जानकारी दिए । “स्पष्टीकरणपछि थप कारबाही प्रक्रिया अघि बढाइनेछ,” एसपी धितालले भने, “हाम्रो सङ्गठनमा यस्तो व्यवहार स्वीकार्य छैन ।”

पत्रकार महासंघ पर्साका अध्यक्ष खनालले भने, “यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण हो । सञ्चारकर्मीमाथि यस्तो व्यवहार गर्ने जोसुकैलाई पनि कडा सजाय हुनुपर्छ ।” खनालसँगै अन्य सञ्चारकर्मीले पनि सर्राफमाथि भएको अभद्र व्यवहारको मुद्दालाई जोडदार रूपमा उठाएका छन् ।

घटना के हो ?

मङ्गलवार साँझ सञ्चारकर्मी सर्राफले वीरगन्जको भन्सार क्षेत्रस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म अगाडि नियमित सवारी चेकजाँचको दृश्य खिचिरहेका थिए । त्यही बेला ड्युटीमा खटिएका सशस्त्र प्रहरीका असई सिंहले उनलाई भिडियो खिच्नबाट रोक्न खोजे । सर्राफले आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै भिडियो खिच्न जारी राखेपछि स्थिति तनावपूर्ण बन्यो ।

सिंहले सर्राफमाथि चरेस तस्करीको झुटो आरोप लगाउँदै अभद्र व्यवहार गरे । “तँ महिना खान्छु्” भन्दै उनले सञ्चारकर्मीको पेसागत इमानदारीमाथि नै आक्रमण गरे । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सञ्चारकर्मी र सर्वसाधारणबिच आक्रोश फैलियो ।

 

Related posts

सरकार जनताको अपेक्षालाई सर्वोपरि राखेर अघि बढिरहेको छ : मन्त्री यादव

MadhesKhabar

बारामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

MadhesKhabar

वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका प्रतिवादी वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment