वीरगन्ज,२६फागुनःवीरगन्ज भन्सार क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको एक झोलाबाट साढे ५८ लाख रुपैयाँ बढी मूल्यको हिरा र सुनका गहना फेला परेको छ ।
सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले गत शनिबार वीरगन्ज भन्सारको मूल गेटको सडकमा भारतबाट आउने सवारी साधनको नियिमत चेकजाँचका क्रममा एक सवारी साधनबाट एउटा बेवारिसे झोला बामद गर्यो । उक्त झोला कसैले नकसकारेपछि सशस्त्र प्रहरीले झोलाभित्र कुन सामान छ भने खानतलासीपनि नगरि गुल्ममा लगेर राख्यो । भोलिपल्ट अर्थात आइतबार उक्त झोला खोलेर हेर्दा त्यसभित्र बहमूल्य हिरा र सुनका गहनाहरु भेटिएपछि सशस्त्र प्रहरी नै अचम्ममा पर्यो ।
उक्त झोलाबाट ५८ लाख ६६ हजार ९ सय २७ रुपैयाँ मूल्यको हिरा र सुनका विभिन्न गहना भेटिएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्र्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिए । उनका अनुसार, उक्त झोलाबाट हिरा जडित बाला १० थान, ब्रासलेट १ थान, फेन्सी ब्रासलेट ९ थान, औंठी ४ थान , सुनको मंगलसूत्र ४ थान, अन्य गहना ११ थान, लकेट ४ थान, झुम्का १३ थान र कानको टप ६ जोर बरामद भएको हो ।
बरामद हिरा र सुनको गहना आइतबार पर्सा सुनचाँदी व्यवसायी संघमा लगेर जाँच गराएर मुल्यांकन गराउँदा ती गहना हिरा र सुनकै भएको प्रमाणीत भएको उनले बताए । उनका अनुसार, बरामद हिराका गहनाका बजार मूल्य ३६ लाख १५ हजार ८७ रुपैयाँ र सुनका गहनाको बजार मूल्य २२ लाख ५१ हजार ८ सय ४० गरी कूल ५८ लाख ६६ हजार ९ सय २७ रुपैयाँ रहेको छ ।