
वीरगन्ज,२६फागुनःवीरगन्जमा केहि साता यता फेरि लामखुट्टेको प्रकोप बढेको जनगुनासो आएपछि वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने तयारी गरेको छ।आगामी चैत ३ गतेदेखि महानगरका वडा–वडामा लामखुट्टेनियन्त्रणका लागि विषादी छर्न सुरु गरिने महानगरपालिकाको सरफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले बताए ।
लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि चैत ३ गतेदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने मियाँले बताए । महानगरका मेयर राजेशमान सिंहको निर्देशन अनुसार लामखुट्टेको लार्भा मार्नका लागि नालामा पम्प एस्प्रेबाट लार्भा साइटींग स्प्रे बिहानदेखि साँझ सम्म ३ पटक र वयष्क लामखुट्टे मार्नका लागि बेलुकीदेखि रातिसम्म २ पटक एयर स्प्रे गर्ने तालिका रहेको उनले बताए ।मियाँका अनुसार विषादी, पानी र मट्टितेलको मिसावट गरी बनाइएको विषादीको स्प्रे चैत ३ गतेदेखि सुरु गरिनेछ।
जाडो सकिएर गर्मी मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि महानगरले हरेक वडामा दैनिक तालिका बनाएरै बिहान, साँझ , बेलुका रातिको समयमा ‘एयर स्प्रे’ र ’पम्प स्प्रे गरिने उनले बताए ।वीरगन्जका मेयर सिंहले नगरवासीलाई लामखुट्टेको प्रकोपबाट बचाउन दैनिक तालिका बनाएर हरेक वडामा विषादी छर्ने व्यवस्था मिलाउन निर्देशन दिएको र त्यही अनुरुप चैत ३ गतेदेखि एयर स्प्रे र पम्प स्प्रेको काम सुरु गरिने उनले बताए ।
विषादी छर्ने अभियान ३२ वटै वडामा चैत २७ गतेसम्म चल्ने मियाँले जानकारी दिए ।चिसो र गर्मी मौसम शुरु हुँदै गर्दा वीरगन्जमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेका लामखुट्टे नियन्त्रण गर्न महानगरले विषादी छकर्ने अभियान सञ्चालन गर्दै आएको छ ।



