
वीरगन्ज,२२फागुनःनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसका कार्यकर्ताले आफ्नै पार्टीका उम्मेदवारलाइै मतदान गर्ने अवसर पाउने प्रतिबद्धता जनाएका छन् । महोत्तरीको बर्दिबासमा बिहीबार साँझ कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस सभापति देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा कांग्रेस कार्यकर्ताहरुले चुनावमा गठबन्धन गरी नेताहरुको भविष्यसँग खेलबाड गरेको र गठबन्धन गरेर निर्वाचनमा सहभागी हुँदा पार्टी कमजोर भएको जिज्ञासा राख्दा जवाफमा देउवाले आगामी निर्वाचनमा आफ्नै उम्मेदवारलाई मतदान गर्ने अवसर आउने प्रतिबद्धता जनाए ।
’२०८४ को निर्वाचनमा गठबन्धन हुँदैन,’ उनले,‘पार्टीका उम्मेदवारलाई मत नदिइ घात गर्ने परिपाटीको अन्त हुनुपर्छ । टिकट पाएका उम्मेदवारको टिकट खोस्ने घटना दोहरिँदैन । उम्मेदवार जित्ने माहोल कार्यकर्ताले नै बनाउनु पर्छ ।’
उनले निर्वाचनको समयमा कांग्रेसीले नै कांग्रेसलाई मतदान नगर्ने परम्परा अन्त गर्न निर्देशन दिए ।फरक प्रसंगमा सभापति देउवाले गणतन्त्रमा राजाको कुनै स्थान नरहेको बताए । ’राजा स्वयं नै कारक भएर गणतन्त्र आयो,’ उनले भने,‘राजाले सत्ता सम्हालेपछि नेताहरुलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे । ज्यादती गरेपछि गणतन्त्र आयो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन् ।’ साभार : कान्तिपुर

