वीरगन्ज,९फागुनःपर्साको ग्रामीण भेगका थारु समुदायका गृहिणी महिलाहरुले बुनेर बनाएका कलात्मक ढकिया–पथीया (हस्तकलाका सामग्री) अमेरिका,जापान,युके,अष्ट्रेलिया लगायतका तेस्रो मुलुकमासमेत निर्यात हुन थालेका छन् ।
पटेर्वा सुगौली गाँउपालिकाका थारु मलिाहरुले घरधन्दाको काम सकाएर फुर्सदको समयमा मूज र राडीको प्रयोग गरेर ढकिया,पथीया,मोना,टोपी,खुत्रुके,टिस्यु पेपर बक्स,पेन होल्डर,डस्टबिन बक्स ,कमण्डल लगायतका कलात्मक सामग्रीहरु व्यवसायिक रुपमा बनाउने गरेका छन् ।गृहिणी महिलाले बुनेका ती सामग्रीहरु काठमाडौं,पोखरा लगायतका शहरका साथै अमेरिका,जापान,युके,अष्ट्रेलियासम्म पनि पुग्न थालेको हो ।
करिब १ बर्षपहिले गाँउपालिका कार्यालयले सुरुमा थारु समुदायका बाक्लो बसोबास भएका विभिन्न वडाका २५ जना महिलालाई ढकिया–पथीया बनाउने सम्बन्धि १५ दिने निःशुल्क तालिम दिएको थियो । त्यहि तालिम लिएपछि थारु महिलाहरुले गाँउघरमै पाइने मुज र राडीको प्रयोग गरेर ढकिया,पथीया लगायतका सामग्रीहरु व्यवसायिक रुपमा बुन्न सुरु गरे । उनिहरुले बुनेर तयार पारेका ती सामग्रीहरुको बजार व्यवस्थापन गरिरहेको गाँउपालिकाले ती सामान तेस्रो मुलुकमा पठाउँदै आएको छ ।
थारु महिलाहरुले आफ्नो सिप र कलाले बनाएका कलात्मक सामग्रीहरुको प्रचार प्रसार गाँउपालिकाले गरेपछि अहिले त्यसको माग स्वदेशबाट मात्रै नभई विदेशबाट समेत आइरहेको पटेर्वा सुगौली–२ बेलवाकी लक्षमीदेवी चौधरीले बताइन् ।मधेसखबरसंगको कुराकानीमा उनले भनिन्,‘हामीले बुनेर बनाएका ढकिया,पथथीया लगायतका सामानहरु अमेरिका,जापानसम्म बिक्न थालेको छ । अहिले त अर्डर नै यति धेरै आइरहेको छ कि हामीले बुन्न नै भ्याइरहेका छैनौं ।’
घरधन्दा र खेतबारीको काम सकाएर बचेको फुर्सदको समयमा मात्रै ढकिाया–पथीया बुन्ने गरेको उनले बताइन् । उनले भनिन्‘हामीले बुनेर बनाएका एउटै सामान ५ हजार सम्ममापनि बिक्छ । जस्तो सामान उस्तै भाउ हुन्छ । तालिम लिएपछि मैले ३० हजार भन्दा बढी नै कमाई गरी सके ।’
सामानको अर्डर गाँउपालिकाले नै लिएर आँफुहरुलाई दिने गरेको र बुनेर तयार पारेपछि गाँउपालिकाले नै ग्राहकलाई बेच्न गरेको उनले बताइन् । मधेसखबरसंग उनले भनिन्,‘अर्डर आएपछि गाँउपालिकाकी मेडमले घरमा आएर हामीलाई मोबाइलमा फोटो देखाइदिनु हुन्छ । त्यहि फोटो हेरेर हामीले त्यो सामान बनाएर गाँउपालिकामा पठाइदिन्छौं । उताबाट पैसा आएपछि घरमै ल्याइदिन्छन् ।’
गाँउपालिकाले दिएको तालिम लिएर ढकिया–पथीया बुन्न थालेकी बेलवा गाँउकी अर्की गृहिणी महिला छठिया देवी थारुले पनि आएको अर्डर अनुसारको सामान बनाउन समय अभावले भ्याउन नसकिएको बताइन् । उनले भनिन्,‘पैसा त राम्रै छ । तर बुन्न समयले भ्याइरहेको छैन । घरधन्दा र खेतबारीको काम सकाएर बचेको समयमा मात्रै ती सामान बनाउने गरेका छौं ।
बेलवाकै सरिता देवी चौधरीले आँफुले बुनेर तयार पारेको कप होल्डर अमेरिकामा पनि बिकेको बताइन् । उनले भनिन्,‘विदेशबाट अनेक थरीका फोटो मोबाइलमा पठाउँछन् ।कतिपय सामान त यस्ता हुन्छन् जुन हामीले गाँउघरमा देखेका हुदैनन् ।तर मोबाइलमा पठाइदिएको फोटो हेरेरै हामीले दुरुस्तै त्यो सामान बनाइदिने गरेका छौं ।बनाएका सामान बेच्नपनि कुनै समस्या नरहेको उनले मधेसखबरलाई सुनाइन् । उनले भनिन्,‘अर्डरपनि गाँउपालिकाले हामीलाई दिन्छ , बनेपछि ती सामान गाँउपालिकाले नै जहाँ पठाउनु पर्ने हो त्यहाँ पठाइदिन्छ । हाम्रो हातमा पैसापनि गाँउपालिकाले नै ल्याएर दिइदिन्छ ।’
व्यवसायिक रुपमा ढकिया पथीया बुन्न थालेपछि घरको गर्जो टार्नपनि आँफुहरुलाई धेरै सहज भइरहेको लक्ष्मी देवीले बताइन् ।उनले भनिन्,‘ मैले त अरु महिलाहरुलाई ढकिया–पथीया बनाउने तालिमपनि दिन थालेको छु । अरु गाँउपालिकामा तालिम दिन जान्छु ।५/७ दिनको तालिम दिन जाँदा तालिम दिए बापत दिनको २ हजार रुपैयाँ भत्तापनि लिने गरेको छु ।केहि साता अघिमात्रै पर्साकै ठोरी गाँउपालिका–३ शिकारीबासका महिलालाई चार दिनको तालिम दिन जाँदा ८ हजार रुपैयाँ भत्ता पाएको उनले सुनाइन् ।
ढकिया–पथीया बुनेर बिक्री गर्न थालेपछि छोराछारीको पढाई लेखाईको खर्चमा पहिलेको जस्तो समस्या नभएको सरिता देवीले बताइन् । उनले भनिन्,‘फुर्सदको समयमा काम गर्दापनि राम्रै आम्दानी भइरहेको छ । अब त कुनै सानोतिनो घरखर्चका लागि वा आँफुलाई चाहिदाँ पहिलाको जस्तो पतिको मुख ताक्नु पर्ने अवस्था पनि छैन ।’
करिब ८५ प्रतिशत भन्दा बढी थारु समुदायको जनसंख्या रहेको पटेर्वा सुगौली गाँउपालिकाका गृहिणी महिलाको सिप र कलालाई प्रोत्साहन गर्नुका साथै उनिहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले पालिकाका ७५ जना महिलालाई ढकिया–पथीया बनाउने तालिम दिएको गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले बताइन् ।
गत वर्ष नारी दिवसकै अवसर पारेर सुरुमा थारु समुदायका ३० जना महिलालाई १५ दिने निःशुल्क तालिम दिएको उनले बताइन् ।त्यसपछि अर्को चरणमा ४० जनालाईपनि त्यहि तालिम दिएको भन्दै उनले भनिन्,‘हालसम्म ७५ जना महिलालाई तालिम दिइसकेका छौं । तीमध्ये ३०÷३५ जनाले व्यवसायिक रुपमा ढकिया–पथीया बनाएर बेचिरहनु भएको छ ।’
पहिलो चरणको तालिम लिएकामध्ये ५ जना महिलालाई प्रशिक्षकको पनि तालिम दिएको र उनिहरुले अन्य पालिकामा गएर महिलाहरुलाई तालिम दिन थालेको उपाध्यक्ष महत्तोले बताइन् ।उनले भनिन्,‘यसवर्षपनि फेरि नारी दिवसकै अवसर पारेर पहिले तालिम लिइसकेका मध्ये केहिलाई एडभान्स तालिम दिने योजना छ ।यसका अतिरिक्त थारुको बाहुल्यता रहेको हरेक टोलमा कम्तिमा १ सय जना महिलालाई यो तालिम दिने हाम्रो लक्ष्य छ ।’

उनले भनिन्,‘थारुको कलासस्कृति र सीपलाई उजागर र प्रोत्साहित गर्नुपर्छ भन्ने लाग्यो । त्यहि भएर थारु महिलाले बनाउने ढकिया–पथीयालाई व्यवसायिक रुपमा बजारीकरण गर्न सकियो भने एक त उनिहरुको आर्थिक अवस्था पनि राम्रो हुन जान्छ । र उनिहरुको कला र संस्कृतिको पनि उजागर हुन्छ भन्ने सोच विचार लिएर हामी अगाडि बढ्यो । र हामीले यसमा राम्रो पनि गरिरहेका छौं ।
आफ्नो पालिकाका थारु महिलाहरुले बुनेर बनाएका सामग्रीहरु अहिले सम्म नेपालकै काठमाडौंं, पोखरा लगायतका शहरका साथै भारत, अमेरिका,युके, अष्टेलिया,जापान सम्म पठाइसकेको उनले सुनाइन् । मधेसखबरसंग उनले भनिन्,‘अहिलेसम्म हामीले लगभग २ लाख बढीको सामान विदेशमा पठाइसकेका छौं ।’
थारु महिलालेृ आफनो कला र सीप प्रयोग गरेर बनाएका सामग्रीहरुले विदेशमा बढी मूल्य पाइरहेका कारण स्वदेश भन्दा बढी विदेशबाट आइरहेको मागलाई आँफुहरुले बढी जोड दिने गरेको उपाध्यक्ष महत्तोले बताइन् । उनले भनिन्,‘हाम्रा महिलाले जुन मेहनत र कला खर्च गरेर सामान बनाउनु हुन्छ ती सामानको मूल्य स्वदेशभन्दा बढी विदेशमा बढी छ । विदेशमा मूल्य राम्रो पाइरहेका कारण हाम्रो जोडबल विदेशी अर्डरमा बढी रहने गरेको छ ।’
विदेशबाट एउटै डिजाइनको सामानको एक सय भन्दा बढी परिमाणमा माग आइरहेको उनले सुनाइन् । उनले भनिन्,‘ तर अर्डर आए अनुसार महिलाहरुले भ्याइरहेका छैनन् । त्यसकारण थप महिलालाई तालिम दिने योजना बनाएका छौं ।’
पटेर्वा सुगौली गाँउपालिका कार्यालयमा वा अन्य कुनै सार्वजनिक कार्यक्रममा बाहिरबाट आउने पाहुना (अतिथी) हरुलाई गाँउपालिकाले मायाको चिन्होका रुपमा आफनै पालिकाका थारु महिलाहरुले बनाएका कलात्मक सामग्रीहरु उपहारका रुपमा दिने गरेकोपनि उपाध्यक्ष महत्तोले बताइन् ।

