Madhes Khabar
राष्ट्रिय हेडलाइन

ओडिसाको कलेजबाट लखेटिएका १५६ नेपाली विद्यार्थी वीरगन्ज नाका हुदैं घर फर्किए

वीरगन्ज,८फागुनःभारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयबाट कुटपिट गरि निकालिएका मध्ये १५६ जना नेपाली विद्यार्थी वीरगन्ज नाका हुदैं घर फर्किएका छन् ।

बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान १० बजेसम्म वीरगन्ज नाका हुदैं १५६ जना नेपाली विद्यार्थी घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।भुवनेश्वरबाट रेल र सडकमार्ग हु्दैं रक्सौल आइपुगेका उनिहरु वीरगन्ज नाका हुदैं नेपाल प्रवेश गरेको मिश्रले बताए ।

वीरगन्जको इनर्वा नाका हुदैं १५३ जना र अलौं नाका हुदैं ३ जना गरेर हालसम्म १५६ जना नेपाली विद्यार्थी नेपाल आइपुगेको मिश्रले बताए । ती मध्ये छात्रा २७ जना र छात्र १२९ जना रहेका छन् । वीरगन्ज नाका हुदैं नेपाल आइपुगेका नेपाली विद्यार्थीहरु पर्सा, बारा र रौतहट जिल्लाका रहेको प्रहरी उपरीक्षक मिश्रले बताए ।

वीरगन्ज नाका हुदैं आइपुगेका उनिहरुलाई प्रहरी,वीरगन्ज महानगरपालिका र साउथजोन माविले गाडी व्यवस्थापन गरेर घर पठाएको प्रहरी उपरीक्षक मिश्रले बताए । मिश्रले भने,‘टाढा घर भएकाहरुलाई प्रहरीसमेतको सहयोगमा गाडी व्यवस्थापन गरेर गन्तव्यसम्म पठाइएको छ । केहिका भने आफन्त नै आएर साथमा लिएर गएका छन् ।’

ओडिसाको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गत आइतबार शंकास्पद मृत्यु भएपछि घटनाको न्यायिक छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले गुण्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै होस्टेल(छात्रावास) बाट निकालेपछि उनिहरु कलेजबाट भागेर कष्टपूर्ण यात्रा गर्दै नेपाल फर्किएका हुन् ।

बुधबार वीरगन्जको इनर्वा नाका हुदैं घर आइपुगेका वीरगन्ज–१५ ब्रम्हचोकका छात्र पिन्टु यादवका अनुसार, केआइआइटी विश्वविद्यालयमा करिब १ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत छन्  । केआइआइटी कलेजमा बिटेक सिभिल दोस्रो सेमेस्टरमा अध्ययनरत यादवले आफ्नै देशका चेलीको शंकास्पद मृत्यु भएपछि घटनाको छानबिन हुनुपर्ने माग राखेर आन्दोलन गर्र्दा कलेज प्रशासनले आँफुहरुमाथि गुण्डा लगाएर निर्घात कुटपिट गरेको बताए ।

उनले भने,‘आन्दोलन गर्दा कुटपिट मात्र गरेन,राति होस्टेलमा कलेजले गुण्डाहरुलाई पठाएर सबै नेपाली विद्यार्थीहरुलाइ तत्काल कलेज र होस्टेल छाडेर जान धम्की दिन लगायो । ज्यान नै असुरक्षित भएपछि हामी रातारात कलेज छाडेर निस्कनु पर्यो ।’ सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म आँफुहरु कलेज नफर्किने उनले बताए । उनले भने,‘ कलेजमा नेपाली विद्यार्थीहरुमाथि जुन ज्यादती भयो त्यो सम्झिदाँ त अब फर्केर जाने हिम्मत नै भइरहेको छैन । फेरि जाँदा कलेजले अहिलेकै रिस राखेर हामीलाई जेपनि गर्न सक्छ भन्ने डर छ।’

Related posts

वर्षा नहुदाँ पर्सामा खेतहरु बाँझै ,रोपाईंका लागि आकाशे पानी कुर्दै किसानहरु

MadhesKhabar

ब्रिटिश सेनालाई गाेर्खाली सेनाले हराएकाे पर्साकाे पर्सागढीमा विजय महोत्सव मनाइदैं

MadhesKhabar

पर्सामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ

MadhesKhabar

Leave a Comment