
चितवन।२४माघ :साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो।
बुधबार लामिछानेको बयान सकिएपछि थुनछेक बहस सुरू भएको थियो। तर,थुनछेक बहस नसकिएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो। बुधबार जिल्ला न्यायाधीश ढकालले लामिछानेको ४ घण्टा लामो बयान लिएका थिए ।
लामिछानेविरुद्ध मंगलबार चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम ठगी कसूरमा अदालतमा मुद्दा दर्ता भएको थियो ।
साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जनाविरुद्द मुद्दा दायर भएको हो । साहाराको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाही गर्न माग गर्दै पूर्वगृहमन्त्री लामिछाने र तत्कालिन गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष समेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १५ जना पुरकसहित मुद्दा दर्ता भएको थियो। रवि लामिछाने,रामबहादुर खनाल ,रबिना रिमाल , बिशाल तामाङ ,नविन अछामी ,कबिता तामाङ , दिपक लामा ,असरफअलि सिद्दिकी ,भगवति बम्जन,लक्ष्मीप्रसाद पौडेल ,विज्ञान राई ,नेत्रपाणी बास्तोला ,शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो ।
हाल पुरक अभियोगमा थप १५ सहित जम्मा ३२ जना प्रतिवादी उपर ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १,२ तथा सङ्गठित अपराध निवारण ऐन विपरीतको कसुर कायम गरि अभियोग दर्ता भएको हो ।
यसअघि असोज ८ गते बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले सहारा सहकारीका १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो । अदालतमा पेस गरिएको १ सय ९ पृष्ठको पूरक अभियोगपत्रमा लामिछाने र जोशीलगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गरिएको छ ।
अहिलेको १५ जना गरी ३२ जनाबाट ३८ करोड ९ लाख ८९ हजार १७७ रुपैयाँ बिगो दाबी गरिएको छ । कम्पनीतर्फ ६ वटा कम्पनीबाट ४४३ करोड ९४ लाख माग दाबी गरिएको छ । थप अनुसन्धानका क्रममा जोडिएका १५ जनाविरुद्ध पूरक मुद्दा दर्ता गरिएको हो।
मंसिर ५ गते साहारा सहकारी चितवनका २४ बचतकर्ताले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै लामिछानेसहित थप १० जनाविरुद्ध पूरक उजुरी दिएका थिए। लामिछानेलाई गोर्खा मिडियाको तत्कालीन सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशकको हैसियतमा बचतकर्ताले उजुरी दिएका हुन्।
उजुरीकर्ताले गोर्खा मिडियामा नियमविपरीत साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट १० करोड ८० लाख रुपैयाँ गएको दाबी गरेका छन् ।
सहकारीको रकम अपचलन मुद्दामा लामिछाने यसअघि कास्की ,रुपन्देही र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए। कास्कीमा ६५ लाख ,काठमाडौंबाट ६० लाख र रुपन्देहीबाट १ करोड धरौटी बुझाएर उनी रिहा भएका थिए। सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्र्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।साभारः अन्नपूर्णपोष्ट

