Madhes Khabar
समाचार

रौतहटमा जिउँदैलाई मरेको बनाएर विधवा भत्ता दिने वडाध्यक्षलाई कारबाहीको माग गर्दै उजुरी

काठमाडौ,३माघः जिउँदै व्यक्तिलाई मरेको बनाएर विधवा भत्ता उपलब्ध गराउने वडा अध्यक्षलाई कारबाहीको माग गर्दै संसदीय समितिमा उजुरी परेको छ । रौतहटको दुर्गाभवती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्रकुमार झाले गैरकानूनी कार्य गरेको भन्दै वडा नम्बर २ का स्थानीय लालबाबु महतोले प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी गरेका हुन् ।

वडा अध्यक्ष झाले आफ्नै वडा कार्यालयमा कार्यरत सहयोगी गगनदेृव महारकी श्रीमती फुलशंकरदेवी महरालाई श्रीमान् जीवितै रहँदा पनि विधवा भत्ता दिइरहेका उजुरीमा उल्लेख छ । यस्तै उनले आफ्नै श्रीमतीको मावलीतर्फका हजुरबुवा इश्वराथ झाको उमेर बढाएर ज्येष्ठ नागरिक र हजुरआमा निर्मलादेवी बाहुनीलाई विधवा भत्ता, अर्का हजुरबुवा कपलेश्वर झा जीवित हुँदाहुँदै उनका श्रीमती महाकाली देवीलाई विधवा भत्ता दिने गरेको उजुरीमा उल्लेख छ ।

यस्तै, अर्का भाई प्रहरी निरीक्षकबाट अवकाश पाएका रेवन्त झाकी श्रीमती भारतीदेवी झालाई उनका श्रीमान जीवित भए पनि विधवा भत्ता, तत्कालीन वडा सदस्य श्यामकान्त झाका बुबा अमरकान्त झालाई १७ वर्ष उमेर बढाएर ज्येष्ठ नागरिक भत्ता, उनकी आमा रेणुदेवीको नाममा दाहोरो विधवा भत्ता, धनेश्वर झालाई ज्येष्ठ नागरिक भत्ता, काकी मुन्द्रिका देवीलाई श्रीमान जिवितै भए पनि विधवा भत्ता दिँदै आएको उजुरीमा उल्लेख छ ।

साथै ललिता देवीलाई श्रीमन जीवित भए पनि विधवा भत्ता, वडा अध्यक्ष झाका काका उपदेशनारायण झा शिक्षक सेवाबाट अवकाश पाएर नेपाल बैंक लिमिटेड गौर शाखाबाट पेन्सन पाइरहेको भए ज्येष्ठ नागरिक भत्ता लिएर दोहोरो सुविधा उपलब्ध गराइरहेको उल्लेख छ ।

तिनै शिक्षक झा जिवितै भए पनि उनकी श्रीमतीलाई मायादेवी बाहुनीलाई विधवा भत्ता, वडा अध्यक्षका काका नित्यानन्द झा जिवितै रहे पनि उनकी श्रीमती शकुन्तलादेवीलाई विधवा भत्ता, अध्यक्षकै दाजु पर्ने साहेब झा जीवितै रहे पनि उनकी श्रीमती पुनमदेवीलाई विधवा भत्ता, अर्का दाजु सीताराम झा जिवितिै रहे पनि श्रीमती मन्दोदरी देवीलाई विधवा भत्ता उपलब्ध गराइदैँ आएको उजुरीमा भनिएको छ ।

वडा सदस्य रहेका देवेन्द्र चौधरीका बुवा रामदेव चौधरी शिक्षक सेवाबाट अवकाश पाएर पेन्सन खाइरहेको भए पनि उनकी श्रीमती वैदेहीदेवीलाई पनि विधवा भत्ता उपलब्ध गराइँदै आएको उजुरीमा भनिएको छ ।

उजुरीकर्ताले पालिकाको वडा नम्बर ३ मा सामाजिक सुरक्षा भत्ता खाइरहेका सबै व्यक्ति मध्ये २ सय भन्दा बढी व्यक्ति जुनसुकै महिना र दिनमा जन्मिएको भए पनि चैत ३० र वैशाख १ मा किर्ते रुपमा जन्मिएको बनाएर समावेश गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरिएको उजुरीमा उल्लेख गरेका छन् ।

यस्तै एउटै नागरिकता प्रयोग गरी एउटै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ताको शिर्षक फरक पारेर एउटै व्यक्तिलाइृ विधवा र अपांग भत्ता दिने गरेको, एउटै व्यत्तिःलाई एउटै नागरिकता नम्बर समावेश गरेर २ देखि ३ वटा सम्म सामाजिक सुरक्षा भत्ताको परिचयपत्र बनाएर रकम दिने गरेको उल्लेख छ ।

अख्तियारमा साढे २ वर्ष अघि २०७९ साउन १७ मा उजुरी दर्ता गरेको दर्ता नम्बर सहित उल्लेख गर्दै शक्तिकेन्द्रको दबाबका कारण आयोगले अनुसन्धान तथा कारवाही नगरेकाले संसदीय समितिमा उजुरी दिएको भनिएको छ ।

पालिका र वडाले गैरकानूनी कार्य गरेको, व्यापक भ्रष्टाजारजन्य काम गरी सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याउनुका साथै व्यक्तिगत लाभ लिने कार्य गरेको पर्याप्त प्रमाणसहित आयोगमा वर्षौअघि उजुरी गरेर कारवाहीका लािग निरन्तर धाउँदासमेत विभिन्न शक्तिकेन्द्रको दबाब र प्रभाव तथा आर्थिक प्रलोभनमा परेर आयोगका पदाधिकारी एवम उच्च अधिकारीबाटै सरक्षण भइरहेको उजुरीमा जिकिर गरिएको छ ।

अख्तियारमा आफूहरुले उजुरी गरेकै कारण उजुरीकर्ता असुरक्षित हुने अवस्था आएको भन्दै बाध्य भएर आवश्यक कारबाहीका लागि संसदीय समितिमा उजुरी गरेको उजुरीमा उल्लेख गरेका छन् । उजुरीकर्ताले पालिका एवम वडाका पदाधिकारी एवम उजुरी गर्दा पनि कारबाही नगर्ने अख्तियारका पदाधिकारीलाई समितिमा बोलाएर छलफल गर्न पनि अनुरोध गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंहले भने आफूविरुद्ध संसदीय समितिमा परेको उजुरीमा उल्लेख भएको विषय आफ्नो विरोधी र प्रतिपक्षीहरुले गरेको बताए ।उनले भने, ‘उजुरीमा म विरुद्धका मान्छेले गरेका हुन्, मेरो कुनै गैरकानूनीका कार्यमा संलग्नता रहेको छैन । सबै कानूनीरुपमा नै गरेको छु र नगरपालिकाले कानूनअनुसार नै काम गरेको छ ।’

वडा नम्बर ३ का वडा अध्यक्षले जिउदैँ व्यक्तिलाई पनि मरेको बनाएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको विषय के हो भनेर प्रश्न गर्दा त्यसमा आफ्नो कार्यकालभन्दा अघि भएका र आफू आइसकेपछि छानबिन समिति बनाएर निकासा रोकेको बताए ।

उनले भने, ‘यसमा प्रमुख जिल्ला अधिकारीले पनि मलाई फोन गरेर सम्पर्क गर्नुभएको थियो । नविकरण गर्ने बेलामा गरौ वा छानविन समिति बनाएर गर्ने भनेका छौ । यो मेरो कार्यकालको होइन, यस अघिल्लो कार्यकालको हो, मेरो कार्यकालमा निकासा भएको छैन, जानी जानी अब नगर्नुस भनेर निर्देशन दिइसकेको छ ।’

वडा अध्यक्ष धर्मेन्द्रकुमार झाले भने आफु विरुद्ध राजनीतिक प्रतिशोध साँधेर प्रतिस्पर्धीले उजुरी गरिएको नेपाल प्रेससँग बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयले २० जनाले गैर कानूनी रुपमा सामाजिक सुरक्षा भत्ता खाइपाइ आएको प्रमाणीत गरेपछि असुल उपर भइसकेको छ ।

उनले भने, ‘निर्वाचनको बेला प्रतिस्पर्धी रहेकाले उजुरी दिएको हो । सामाजिक सुरक्षा भत्ता सरोकारको विषय होइन हाम्रो । हामी त जनप्रतिनिधि हो । रकम नखानुपर्ने व्यक्तिले खाएको रहेछ । खाने व्यक्तिलाई रोकिसकेका छौ । अशुल उपर गराएर सरकारको राजस्व खातामा फिर्ता भइसकेको पनि डेढ वर्ष भइसकेको छ । राजनीतिक प्रतिसोधका रुपमा उजुरी गरिएको हो ।’

सबै जना वडाध्यक्षकै परिवारको र नजिकका सदस्यले कसरी दुरुपयोग गरे भन्ने प्रश्नमा उनले भने, ‘वडा अध्यक्ष भएकाले सबै मेरो वडामा हुने भइहाल्नुभयो । प्रतिस्पर्धी पनि हाडनातामा पर्ने हो । ५ सय जनसंख्या रहेका सबै हाडनातामा पर्ने नै हो । फिर्ता गरेको विवरण सबै तयार गरेर राखेका छौ । पदमुक्त गराइदिन्छौ भनेका छन्, राज्यका सबै निकायमा उजुरी सकेको सबै ठाउँमा गर्नुभएको छ । म वडा अध्यक्ष हो, सबै प्रणाली कब्जामा लिनका लागि प्रधानमन्त्री त होइन म ।’ साभार : नेपाल प्रेस

Related posts

फेसबुकिया नेताहरु देख्दा दिक्क लाग्छ : मेयर सिंह

MadhesKhabar

मधेससहित देशभर अझै दुईदिन पानी पर्ने सम्भावना

MadhesKhabar

तस्करीको आशंकामा वीरगन्जबाट ८७ लाखको औषधिसहितको ट्रक प्रहरीको नियन्त्रणमा

MadhesKhabar

Leave a Comment