
वीरगन्ज,०१माघःवीरगन्जमा जारी जय ट्रफी एलिट कप क्रिकेटको उपाधिका लागि मंगलबारदेखि सुरु त्रिदिवसीय फाइनल खेलको पहिलोदिन नेपाल पुलिस क्लबले ८५ रनमात्र बनाएको छ ।
नारायणी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबसंग टस हारेर पहिले व्याटिङको निम्तो पाएको पुलिसले १७ ओभरमा २ विकेट गुमाएर ८५ रनमात्र बनाएको हो । फाइनल खेल बिहान ९.३० बजेनै सुरु हुने भनिएपनि खराब मौसमका कारण खेल निर्धारित समय भन्दा पाँच घण्टा ढिलो गरी सुरु भएको थियो । मैदानमा बाक्लो हुस्सु लागेर भिजिबिलिटी नै कम भएपछि खेल दिउँसो २.३० बजेदेखि खेल सुरु भएको पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए ।
खराब मौसमकै कारण पुलिसले १७ ओभरमात्र खेलेर २ विकेटको क्षतिमा ८५ रन बनाएको अवस्थामा रेफ्रिीले पहिलो दिनको खेल समाप्तिको घोषणा गरेका थिए ।
पहिलो दिनको खेल सकिदाँ पुलिसका कुशल भुर्तेल ५० रन र अर्जुन शाउद शुन्य रनका साथ क्रिजमा अविजित छन् । अमित श्रेष्ठ २० रन बनाएर पेभेलियन फर्किए भने ओपनर व्याटर दिलिप नाथ भने पहिलो बलमै डक आउट हुन पुगे । बलिङ्तर्फ आर्मीका सोमपाल कार्मी र साहब आलमले समान एक–एक विकेट लिए।
अब बुधबार बिहानदेखि सुरु हुने दोस्रो दिनको खेल पुलिसले १८ औं ओभरबाट सुरु गर्नेछ ।गत वर्ष माघमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा भिडेका यी दुवै टिम जय ट्रफीको उपाधिका लागिपनि फाइनलमा भिडिरहेका हुन् । गत वर्षको प्रधानमन्त्री कपको फाइनलमा पुलिसले आर्मीलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
जारी प्रतियोगिताको समूह चरणको खेलमा शीर्ष दुई स्थानमा रहेका पुलिस र आर्मी प्रतियोगिताको फाइनल खेलिरहेका हुन् । समूह चरणमा समान तीन खेलमा पुलिसले ६६ र आर्मीले ५५ अंक बटुलेको थियो ।
प्रतियोगितामा सहभागी अन्य टोलीमध्ये तेस्रो स्थानमा रहेको बागमतीले ४१.५ र पुछारमा रहेको मधेस प्रदेशले ३१ अंक पाएको थियो । समूह चरणको खेलमा पुलिसले दुई खेल जितेको थियो भने एकमा बराबरी भएको थियो । आर्मीले भने एकमा जित हात पारेको थियो भने दुई खेल बराबरीमा टुंग्याएको थियो ।

