वीरगन्ज,२९पुसःमाघी (खिचडी) पर्वको उपलक्ष्यमा पर्साको पटेर्वा सुगौली गाँउपालिकाले पहिलो पटक माघी तथा भाथा महोत्सव आयोजना गर्दैछ ।चाडबाडसंगै पर्यटन प्रबर्धनको उदेश्यले पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ दापा सुगौलीस्थित खेलमैदानमा मंगलबारदेखि तीन दिने चौथो माघी तथा भाथा महोत्सव आयोजना गर्न लागिएको पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले जानकारी दिए ।
उनका अनुसार,भोलि मंगलबारदेखि सुरु भई माघ ३ गतेसम्म चल्ने माघी तथा भाथा महोत्सवमा थारु समुदायका खानाका परिकार, मौलिक पहिरन र भेषभुषा, पालिकामा उत्पादन भइरहेका ढकिया–पथिया,दुना–टपरी,नारी सुरक्षा सेनेटरी प्याड,कृषि औजार लगायतको प्रदर्शनी स्टलहरु राखिने छन् ।यस्तै महोत्सवस्थलमै पहिलोदिन मंगलबार रक्तदान कार्यक्रमपनि आयोजना गरिने गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तोले जानकारी दिइन् ।
उनका अनुसार, तीन दिने महोत्सवमा पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको पर्सा जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल दग्धेश्वरनाथ महादेव मन्दिर भाथा थामको प्रचार–प्रसार र पर्यटन प्रबर्धनका लागि जीप र हात्ती सफारीकोपनि व्यवस्था गरिनेछ । महोत्सवस्थल देखि भाथा धामसम्म जीप सफारी र जंगलभित्र हात्ती सफारीको व्यवस्था मिलाइएको महत्तोले मधेसखबरलार्य बताइन् ।
उनका अनुसार, जिप सफारीको शुल्क प्रतिव्याक्ति ६ सय रुपैयाँ तथा जिप र हात्ती दुवैको सफारीका लागि प्रति व्याक्ति १ हजार २ सय रुपैयाँ तोकिएको छ ।पर्सा जिल्लाकै प्रुमख धार्मिक पर्यटकीय स्थल भाथा धामको प्रचार प्रसारसंगै पयर्टक प्रबर्धनका लागि महोत्सवमा जिप र हात्ती सफारीको प्रबन्ध गरिएको उपाध्यक्ष महत्तोले बताइन् ।
यसबाहेक तीन दिने महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रमपनि हुने माघी मूल समारोह समितिका संयोजक मुकेश गौरोले मधेसखबरलाई जानकारी दिए ।पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा मंगलबारदेखि सुरु हुने तीन दिने महोत्सवको समुद्घाटन थारु समुदायका अगुवा परमेश्वर गौरेले गर्ने संयोजक गौरोले जानकारी दिए ।